शान्ति मिसनमा जान लागेका ३५ सैनिकमा कोरोना संक्रमण, लिवियाको उडान रद्द
२९ भदाै, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिवियामा जान लागेका नेपाली सेनाका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएपछि उडान रद्द भएको छ । शान्तिस्थापनार्थ लिविया जान लागेको ११६ जना सैनिकमध्ये ३५ भन्दाबढीमा काेराेना संक्रमण देखिएपछि आज तय भएको उडान रद्द भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।
काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम पूरा गरी चार महिनादेखि क्वारेन्टिनमा रहेका फौजमध्ये उडानपूर्व गरिएको पछिल्लो परीक्षणमा ती जवानलाई काेराेना संक्रमण पुष्टि भएपछि उडान रद्द भएको हो । संयुक्त राष्ट्र सङ्घको शान्ति सैनिक बोक्ने विमान नेपाली शान्ति सैनिकलाई लिन आइतबार राति आउने र आजै बिहान टोली त्यसतर्फ जाने पूर्वनिर्धारित कार्यक्रम थियो ।

काेराेना संक्रमण देखिएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी उक्त टोलीमा रहने सबैको पुनः स्वास्थ्य परीक्षणपछि मात्र लिबियातर्फ जान उडानको मिति तय गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । वैशाखमा नै लिबिया जानुपर्ने उक्त शान्ति सैनिकको टोली विश्वभर फैलिएको कोभिड–१९ का कारण चार महिना रोकिएको थियो ।
प्रकाशित मिति : September 14, 2020 at 3:32 pm



