१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

रमाइलोका लागि अपहरणको नाटक गर्ने महिला पक्राउ

२९ भदौ,  बाँके । प्रहरीले अपहरणमा परेको नाटक गर्ने एक महिलालाई पक्राउ गरेको छ।बर्दियाको ठाकुरबाबा नगरपालिका ४ मैनवा घर भई नेपालगञ्ज उपमहानगरपालिका ६ फूलटेक्रा बस्दै आएकी ३३ वर्षीय आशिककुमारी चौधरीलाई प्रहरीले शनिवार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चौधरीले काल्पनिक घटना बनाएर आफू अपहरणमा परेको नाटक गरेकी थिइन । सानु दहितको नामबाट चौधरीले सुन्दर केटीको फोटो राखेर फेसबुक आईडी बनाई नवलपरासीका एकजना युवकलाई साथी बनाएकी थिइन् । साथी बनेर फोन सम्पर्क गर्ने गरे पनि भिडिओ च्याट तथा भेटघाट गर्ने कुरा हुँदा भने उनी पञ्छिने गरेको प्रहरी कार्यालयले जनाएको छ।

फेसबुकमा उनले ती युवकसँग आफू २२ वर्षीया युवती भएको, आफ्नै व्यापार भएको, नेपालगञ्ज र पोखरामा घर भएको झुटो जानकारी दिएकी थिइन । चौधरीले गत २६ गते आफ्नै गाडीमा नेपालगञ्जबाट पोखरा जान लागेको र बाटोमा भेटेर सँगै पोखरा जाने बताएकी उनले चन्द्रौटामा आफू गाडीसहित अपहरणमा परेको खबर ती केटा साथीलाई गरेकी थिइन् ।

अनुसन्धानका क्रममा सबै झुटो भएको खुलेपछि प्रहरीले ति महिलालाई नियन्त्रणलाई लिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा ती महिलाले फेसबुकमा साथी बनाई रोमान्स गर्नका लागि नाटक गरेको बताएकी छन ।

प्रकाशित मिति : September 14, 2020 at 10:03 am