पहिरो प्रभावितलाई तत्काल सहयोग हुन्छः सभामुख सापकोटा
२८ भदौ, सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले आज बाह्रबिसे नगरपालिका–७ घुमथाङको भीमखर्कमा र नाकबुच्चेमा गएको पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी पहिरो प्रभावितलाई तत्काल सहयोग हुने जानकारी दिनुभयो ।उहाँले भौगोलिक अध्ययन गराएर यहाँको बस्ती सार्नुपर्ने/नपर्ने विषयमा राष्ट्रियस्तरमै पहल गरिने प्रतिबद्धता जनाउनुभयो । “पीडित परिवारका लागि तत्काल राहतको व्यवस्था हुन्छ नै”, सभामुख सापकोटाले भन्नुभयो ।

गए राति गएको पहिराले ११ घर क्षति भई नौ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन् । तीन घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
यसैगरी आज बिहान गएको पहिराले जुगल गाउँपालिका–४ चनौटेमा तीन घर पूर्ण रुपमा क्षति भई स्थानीयवासी विमला पौडेल घाइते हुनुभएको छ । त्यस्तै वडा नं १ सेलाङको देउरालीमा पहिराले सात घरका परिवार विस्थापित भएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो ।
प्रकाशित मिति : September 13, 2020 at 2:59 pm



