११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

युवककाे अपहरण गरी फिरौती माग्ने ३ जना पक्राउ

२६ भदौ, बनेपा । युवालाई अपहरण तथा शरिर बन्धक बनाई फिरौती माग गर्ने तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार पाँचखाल नगरपालिका वडा नं. १२ तिनघरे घर भई हाल धुलिखेल नगरपालिका वडा नं. ४ स्थित २८ किलो डेरा गरी बस्ने १९ वर्षीय आकाश परियार, सोही ठाउँका २१ वर्षीया सविना तामाङ र बेथानचोक गाउँपालिका वडा नं. ४ चलालगणेशस्थान घर भई हाल धुलिखेल–४ स्थित २८ किलो डेरा गरी बस्ने २१ वषीया उमा परियारलाई पक्राउ गरिएको हो ।

पाँचखाल–१२ देवभूमी घर भएका २३ वर्षीय राजकुमार दनुवारलाई धुलिखेल–४ स्थित २८ किलोमा ४/५ जनाको समूहले अपहरण गरी बन्धक बनाई रु पचास हजार माग गरेको भन्ने सूचनाका आधारमा खोजतलासका क्रममा तीन जनालाई पक्राउ गरिएको थापाले बताउनुभयो । उहाँका अनुसार आकाश र सविनालाई बिहीवार र उमालाई आज बिहान पक्राउ गरिएको हो । घटनामा संलग्न फरार रहेका दुई जनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

पक्राउ परेकामध्ये सबिनाले दनुवारलाई फोनसम्पर्क गरी भेटघाट गर्न बोलाएको र सँगै कुराकानी गरी बसिरहेको अवस्थामा आफ्ना श्रीमान् आकाशलगायत अन्य व्यक्तिले उहाँलाई नियन्त्रणमा लिई बन्धक बनाएर घट्ना मिलाउन भन्दै रु पचास हजार माग गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरुले बुधवार अपहरण गरेका दनुवारलाई बनेपा–१० बुडोलबाट सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ । सो घटनामा पक्राउ परेका तीन जनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–१७ अन्तर्गत अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

प्रकाशित मिति : September 11, 2020 at 8:04 pm