दुई लाख घुस खाएर किर्ते नागरिकतामा सेटिङ मिलाउने तनहुँका कांग्रेस नेता मल्ल पक्राउ
२२ भदाै, तनहुँ । कीर्ते नागरिकता बनाउन सहयोग गरेको आरोपमा तनहुँ जिल्ला अदालतबाट दोषी ठहर भएका भानु नगरपालिका–५ का वडा अध्यक्ष एंव नेपाली कांग्रेसका नेता प्रकाश मल्ललाई २२ वर्ष पछि सोमबार प्रहरीले पक्राउ गरेको छ । मल्ललाई इलाका प्रहरी कार्यालय डुम्रेबाट गएको प्रहरी टोलीले वडा कार्यालयबाट नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमल्सेनाले बताउनुभयो ।
मल्लले २०५४ सालमा साविक गजरकोट गाविस वडा नम्बर ४ (हाल घिरिङ गाउँपालिका) का अम्बरबहादुर थापाको छोरा राजु थापालाई सोही ठाउँका होमबहादुर थापाको छोरा भन्ने झुटो विवरण बनाई नागरिकताको प्रमाणपत्र निकाल्न सहयोग गरेको आरोप लागेको थियो ।
बेलायती सेनाका लाहुरे होमबहादुरलाई दुई लाख रुपैयाँ दिई राजुलाई उनको छोरा भनी जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र बनाउन मल्लले सेटिङ मिलाएको आरोप लागेको थियो । नागरिकता प्राप्त गरेपछि राजु हङकङ गएका थिए । उनको केही वर्ष अघि हङकङ मै मृत्यु भएको थियो । होमबहादुर अहिले ८५ वर्षका भएका छन् ।

नागरिकताको किर्ते गरेको सोही मुद्धामा जिल्ला अदालतले मल्ललाई २०५५ बैशाख २ गते दोषी ठहर गरेको थियो । अदालतले मल्ललाई एक वर्ष कैद फैसला गरेको थियो । अदालतको फैसला अनुसारको कैद भुक्तान नगरी मल्ल तत्कालिन अवस्थामा फरार रहेका थिए । धेरै वर्ष बिदेश बसेर मल्ल नेपाल फर्किई राजनीतिक तथा सामाजिक काममा सक्रिय थिए ।
उनको सो मुद्धाको बारेमा धेरैलाई जानकारी नभएपछि त्यही मौकाको फाईदा उठाई मल्लले २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदबारी दिएर बिजयी समेत भएका थिए । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने क्रममा २२ वर्ष पुरानो मुद्धाका अभियुक्त वडा अध्यक्ष मल्ललाई पक्राउ गरिएको डिएसपी तिमिल्सेनाले बताउनु भयो ।
उनलाई सोमबार नै अदालतमा पेश गरि कैद भुक्तानकोलागि कारागार कार्यालय तनहुँमा पठाईएको छ । मल्ल गत बैशाख ११ गते भानु नपा–१ का २१ वर्षीय पविन गुरुङको हत्याको घटनामा पक्राउ परि अदालतको आदेशमा जेठ ८ गते ५० हजार धरौटीमा रिहा भएका थिए । सो मुद्धाको अहिलेसम्म फैसला भएको छैन ।
यो पनि पढ्नुहोस्
–हत्या आरोपमा तनहुँका कांग्रेस नेता प्रकाश मल्ल पक्राउ, जाहेरीमा नाम नराख्न प्रहरीको दबाब
प्रकाशित मिति : September 7, 2020 at 6:02 pm



