निशेधाज्ञा तोडेर रातो मच्छिन्द्रनाथको रथ तान्न भेला भएका स्थानीय र प्रहरीबीच पुल्चोकमा झडप
१८ भदाै, काठमाडौँ । निशेधाज्ञा तोडेर रातो मच्छिन्द्रनाथको रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीय प्रशासनको वेवास्ता गर्दै रथ तान्न खोजेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो । लामो समयदेखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथलाई निषेधाज्ञाकै बीच तानिएको हो।

मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनका कारण सयौंको संख्यामा पुल्चोकमा स्थानीय जम्मा भएका थिए। आक्रोशित भीडले यो प्रहरी कारबाहीलाई स्थानीय जात्रापर्वमाथिको दमनका रूपमा लिएका छन् । प्रहरीले भीडलाई राेक्न खाेज्दा सयौंको संख्यामा आएका जनताले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका हुन् ।

कोभिड- १९ का कारण सरकारले भेला भएर विभिन्न चाडपर्व मनाउन निषेध गरेको छ । निषेधाज्ञा तोडेर रथ तान्न थालेपछि झडप भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए । कोरोना महामारीबीच उपस्थित यति ठूलो भीडमध्ये कतिपयले मास्क लगाएका छन् भने मास्क नलगाउनेहरू पनि थुप्रै छन्।

प्रकाशित मिति : September 3, 2020 at 2:40 pm



