सिन्धुपाल्चोकको लिदी पहिरो पीडीतलाई एनआरएनएद्धारा आर्थिक सहयोग
१७ भदौ, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ स्थित लिदीका पहिरो पीडितलार्ई रु पाँच लाख आर्थिक सहयोग गरेको छ । पहिरो पीडितको अस्थायी बस्ती बासखर्क पुगेर सङ्घका उपाध्यक्ष सोनाम लामाले सो रकम हस्तान्तरण गर्नुभएको हो ।

उपाध्यक्ष लामाले जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाई संयुक्त रुपमा सहयोग हस्तान्तरण गर्नुभएको सङ्घले जनाएको छ । सो अवसरमा सङ्घका उपाध्यक्ष लामाले लिदीका पहिरो पीडितलाई आगामी दिनमा थप सहयोग उपलब्ध गराइने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले सहयोगका लागि सङ्घलाई धन्यवाद दिँदै आगामी दिनमा ठोस योजना बनाएर सहकार्य गरी अगाडि बढ्न तयार रहेको बताउनुभयो । जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकामा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पुर्णरुपमा क्षति पु¥याउँदा १५६ भन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।
प्रकाशित मिति : September 2, 2020 at 6:57 pm



