१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

जाजरकोटमा मुटु रोगी बालबालिकाको संख्या बढ्दै

१९ जेठ, जाजरकोट । सुगम ठाउँका बालबालिकाको तुलनामा जाजरकोटका बालबालिकामा मुटु रोगको समस्या सात गुणा बढी रहेकोे देखिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीको नेतृत्वमा जाजरकोट पुगेकोे चिकित्सकको टोलीले जिल्लाका करिब पाँच हजार बालबालिकाको मुटुको जाँच (स्क्रिनिङ) गरेको छ ।

‘पाँचदेखि १५ वर्ष उमेर समूहका स्कुले विद्यार्थी र अन्य बालबालिकामा गरिएको परीक्षणको अवस्था हेर्दा जाजरकोटमा धेरै बालबालिकामा मुटुरोगको समस्या देखियो’, वरिष्ठ मुटुरोग विशेषज्ञ डा रेग्मीका अनुसार काठमाडौँंलगायत शहरमा परीक्षण गर्दा एक हजारमा एक जनामा समस्या देखिन्थ्यो तर जाजरकोटमा एक हजारमा सात जनामा समस्या देखियो ।’ करिब पाँच हजार बालबालिकामा गरिएको परीक्षणमा ३६ जना बालबालिकामा बाथ मुटुरोग ( मुटुको भल्भको समस्या) को समस्या देखिएको छ ।” त्यसमध्ये दुई जनाको शल्यिक्रया नै गर्नुपर्ने भएको छ । उनीहरूको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइनेछ । अन्यले औषधि सेवन गरे ठीक हुने अवस्था छ ।”

नेपाल हृदयरोग निवारण प्रतिष्ठानले जिल्लाका केही विद्यालयमा गरेको मुटुरोगसम्बन्धी स्क्रिनिङबाट यस्तो तथ्य फेला परेको हो । जन्मजात मुटुरोग हुने (मुटुमा प्वाल पर्ने) बालबालिकाको संख्या भने एक हजारमा तीन जना रहेको छ, यो भने सामान्य हो डा रेग्मीले भने “गरिबी, विपन्नता, अशिक्षा, पोषणको कमी, आहार, बिहारको सन्तुलन नमिल्नुलगायत कारण मुटुरोग देखा पर्ने गरेको छ । बालबालिकामा टनसिल अर्थात् घाँटीको समस्या देखा परेका बेला समयमा उपचार नगरे मुटुको भल्भमा समस्या देखिन्छ।”

मानवीय सेवाभावले दुर्गम जिल्लामा मुटुरोग सम्बन्धि जनचेतनामूलक कार्यक्रम र शिविर आयोजना गरिएको बताए । शिविरमा पाँच हजार बालबालिका र एक हजार वयष्क गरी करिब ६ हजारले मुटु परीक्षण गराएका छन् ्।

प्रकाशित मिति : June 2, 2018 at 3:05 pm