स्याङ्जामा गर्भवती महिला बोकेको एम्बुलेन्स दुर्घटनाः दुई जनाको मृत्यु, दुई जना गम्भीर घाइते
१४ भदाै, स्याङ्जा । स्याङ्जाको वालिङमा गर्भवती महिला बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन ।
स्याङ्जाको वालिङ नगरपालिकामा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स भीरबाट अन्दाजी २ सय ५० मिटर तल खसेको छ। चापाकोटका २८ वर्षीया गर्भवती महिलालाई घर लिएर फर्केको एम्बुलेन्स आइतबार बिहान वालिङ् नगरपालिका- ५ स्थित चापाकोट जाने भित्री सडकमा दुर्घटना भएको हो।

प्रहरीका अनुसार मृत्यु हुनेमा चापाकोट— १० का २५ वर्षीय श्याम पंगेनी र चापाकोट—९ का ३५ वर्षीय भानुभक्त गैह्रे रहेका छन । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीका अनुसार उनीहरु दुबैको वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।
घाइते भएका ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी, ३२ वर्षीय पवित्रा पोखरेललाई थप उपचारको लागि पोखरा पठाइएको छ।काठमाडौंमा बस्दै आएकी भण्डारी सुत्केरी हुनका लागि आफ्नो घर चापाकोट फर्केको बताइएको छ। एम्बुलेन्समा सवार ४ जना चापाकोटका हुन्।
प्रकाशित मिति : August 30, 2020 at 8:41 am



