११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

तनहुँमा चार दिनमा बहुविवाह मुद्दाका तीन प्रतिवादी कारागार चलान

१३ भदौ, दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले चार दिनको अवधिमा तीन बहुविवाह मुद्दाका प्रतिवादीलाई पक्राउ गरी कारागार चलान गरेको छ । फरार प्रतिवादी पक्राउ गर्ने अभियानअन्तर्गत प्रहरीले पछिल्लो चार दिनको अवधिमा बहुविवाह मुद्दाका तीन फरार प्रतिवादी पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी युवराज तिमिल्सिनाका अनुसार भीमाद नगरपालिका–५ बस्ने ३२ वर्षीया हरिमाया नेपालीलाई नौ वर्षपछि, ऋषिङ गाउँपालिका–२ गैराथोक बस्ने ३३ वर्षीय विनोद भन्ने धनबहादुर राना र ३६ वर्षीया नमूना राना ठकुरीलाई दुई वर्षपछि पक्राउ गरेको हो ।

भीमादकी हरिमायालाई जिल्ला अदालत तनहुँले विसं २०६८ असार २८ गते एक वर्ष छ महिना कैद र रु १५ हजार जरिवानाको फैसला सुनाएको थियो । ऋषिङका धनबहादुर र नमूनालाई जिल्ला अदालतले विसं २०७५ असार २६ गते जनही एक वर्ष कैद र रु १० हजार जरिवानाको फैसला सुनाएको थियो । तीन जनालाई नै कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी भएकालाई धमाधम पक्राउ गरिरहेको छ ।

प्रकाशित मिति : August 29, 2020 at 5:52 pm