११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

अवरुद्ध आँबुखैरेनी–मुग्लिङ सडकखण्ड दुईतर्फी खुलाउने तयारी

१३ भदौ, दमौली । सुख्खा पहिराले शुक्रबार बिहान अवरुद्ध भएको तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड दुईतर्फी खुलाउने तयारी गरिएको छ । आँबुखैरेनी गाउँपालिका र सडक विभागको सहयोगमा हिजो नै सडक एकतर्फी बनाइएको थियो । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक खसेको पहिरो डोजरले हटाएर एकतर्फीरुपमा सञ्चालन गरिएपनि दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

फाइल फाेटाे

साना–साना ढुङ्गा हिजै डोजरको सहायताले हटाइएपनि ठूला ढुङ्गा हटाउन ब्रेकरको प्रयोग गर्नुपर्ने भएकाले केही समय लाग्ने देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

आँबुखैरेनी–मुग्लिङ सडकखण्ड अन्तर्गत उक्त ठाउँमा बेला–बेलामा पहिरो गएर राजमार्ग अवरुद्ध हुने गरेको छ । वर्षा नभएको बेलामा पनि यहाँ सुख्खा पहिराको समस्या रहँदै आएको छ । कोत्रेदेखि मुग्लिङ खण्ड अन्तर्गत तनहुँको ७२ किमि राजमार्गमा सबैभन्दा बढी पहिरो जाने ठाउँ नै यही हो ।

प्रकाशित मिति : August 29, 2020 at 9:00 am