लोडसेडिङको अन्त्य सरकारको योजना र सामूहिक प्रायसमा सम्भवः कार्यकारी निर्देशक घिसिङ
११ भदौ, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्ट मार्गनिर्देशनका आधारमा विद्युत्भार कटौतीको अन्त्यलगायत प्रशासनिक सुधारको काम गरेको स्पष्ट पार्नुभएको छ । उहाँले विद्युत्भार कटौतीको अन्त्य आफ्नो व्यक्तिगत प्रयासबाट मात्र सम्भव नभएको र त्यसमा सरकारको नीति, निर्देशन तथा कार्यादेशले काम गरेको बताउनुभएको छ ।
घिसिङले आज जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “विद्युत्भार कटौतीको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिस्पर्धी संस्था बनाउन सरकारको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारी नै हुन् ।” उहाँले आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एक व्यक्तिको प्रयासबाट मात्रै विद्युत्भार कटौतीको अन्त्य गरी संस्थालाई मुनाफामा लैजानेलगायतका उपलब्धी हासिल गर्न सम्भव नभएको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ चार वर्षका लागि नियुक्त भएका थिए । उहाँले आफ्नो अर्को कार्यकालको पुनःनियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री, उर्जामन्त्री र आफुलाई जोडेर आधारहिन तथा तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिन अनुरोध गर्नुभएको छ । प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धी हासिल भएको घिसिङले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख छ ।
सबै नेपालीको घरमा उज्यालो पु¥याउने, ऊर्जा खपत बढाउने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उपलब्ध गराउने, प्राधिकरणभित्र सुशासन कायम गर्न निरन्तर क्रियाशिल रहेको समेत उहाँको भनाइ छ । उहाँले प्रभावकारी सेवा सञ्चालन गर्न प्रणालीलाई स्वचालित र डिजिटलाइजेसन गर्ने, नेपालको पानी जनताको लगानी हरेक घर विद्युतको सेयरधनी कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने, ठूला जलविद्युत तथा प्रसारण लाईन आयोजनाको निर्माण गर्नेलगायतका नेपाल सरकारका नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न प्राधिकरण निरन्तर क्रियाशील रहेको उहाँको भनाइ छ ।
प्रकाशित मिति : August 27, 2020 at 8:45 pm



