सिन्धुपाल्चोकका ६२ घर पहिरोकाे जोखिममा
१० भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन् । निरन्तरको पहिरोले सुनकोशीका सुन्दरडाँडा, धुसेनी र पाखरदोभानका घरहरु पहिरोको जोखिममा परेका हुन् । पहिरो निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको वडाअध्यक्ष रामकुमार थापाले जानकारी दिनुभयो ।

पहिरो मुनी धुसेनी गाउँ छ भने पहिरोमाथी सुन्दरडाँडा गाँउ छ । वडाअध्यक्ष थापाका अनुसार सुन्दरडाँडाका २३, धुसेनीका ३२ र पाखरदोभानका ७ घर जोखिममा परेका छन् । बस्ती जोखिममा परेपछि स्थानीयवासीलाई सुरक्षित हुन वडा र गाउँपालिका कार्यालयले अनुरोध गरेको छ । अहिले तत्कालका लागि स्थानीयवासीलाई १५ थान त्रिपाल उपलब्ध गराइएको छ । गाउँका सबै घर छाडेर सुरक्षित मैदानमा गएर बसेका छन् । गाउँ नै पुरिने र बगाउने अवस्थामा रहेको बोहराले बताउनुभयो । स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको वडा अध्यक्ष थापाले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : August 26, 2020 at 9:13 pm



