१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

मन्त्री नेम्वाङ्ग र रसियाका राजदुत एलेक्सी नोभिकोभ बीच भेटवार्ता

९ भदाै, काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङ्गसंग नेपालका लागि रसियाका राजदुत एलेक्सी नोभिकोभले शिष्टाचार भेटवार्ता गर्नु भएको छ । सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री नेम्वाङ्गले विश्वव्यापी कोरोना भाईस (कोभिड–१९) विरुद्धको खोप रुसले तयार गरेकोमा बधाई दिनुका साथै पूर्ण सफलताको कामना गर्दै विश्व मानव जातिलाई बचाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

भेटमा मन्त्री नेम्वाङ्गले पूर्वपश्चिम विद्युतिय रेलमार्गको कम्तिमा पनि इनरुवा–बद्र्रिवास खण्डको निर्माणमा लगानी सहितको सहकार्य गर्ने बारे प्रस्ताव गर्नु भएको छ । त्यस्तै करिब ४.५ खर्ब  लागत लाग्न सक्ने ७२ किलोमिटर लम्बाई रहेको संघीय राजधानी काडमाण्डौको मेट्रो प्रोजेक्टमा समेत रुसी सहकार्य सम्बन्धमा छलफल भएको छ । उक्त मेट्रो प्रोजेक्टको पाँच खण्ड मध्ये कुनै पनि खण्डमा रुसी प्रविधि र लगानी सहित सहभागी हुन गरिएको प्रस्तावमा राजदुत नोभिकोभले नेपालको विकासमा सहकार्य गर्न आफु उत्साहित रहेको र रसियन सरकारसंग पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

भेटमा द्धिपक्षिय हित तथा पारस्पिरिक सम्बन्धका बारेमा छलफल हुनका साथै रुसी सहयोगमा निर्माण भएका विगतका परियोजनाहरु कान्ति अस्पताल, पनौती हाइड्रोइलेट्रिक स्टेशन, पूर्वपश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्ड, जनकपुर सिगरेट उद्योग, कृषि औजार कारखाना, विरगञ्ज सुगर मिल र रोजिन एण्ड टर्पाईन प्लाण्ट बारे समेत छलफल भयो । उक्त भेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्की, सहसचिव गोपाल सिग्देल र रेल विभागका महानिर्देशक बलराम मिश्र सहभागी रहनु भएको थियो ।

प्रकाशित मिति : August 25, 2020 at 3:13 pm