९२ जना कोरोना सङ्क्रमित भेटिएको टोखामा १७ शैय्याको ‘आइसोलेसन सेन्टर’ स्थापना
६ भदाै, काठमाडाैँ । टोखा नगरपालिकाले कोभिड–१९ बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर १७ शय्याको ‘आइसोलेसन सेन्टर’ निर्माण गरेको छ । कोरोना सङ्क्रमित विरामीको उपचारका लागि आज टोखा नगरपालिका–२ स्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा आइसोलेशन सेन्टर स्थापना गरेको हो । उक्त सेन्टरको आज नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गरे ।
सो अवसरमा नगरप्रमुख अधिकारीले टोखा नगरपालिकामा दिनानुदिन कोभिड–१९ का विरामी बढ्दै गएकाले आइसोलेसन सेन्टर स्थापना गरिएको जानकारी दिए ।

नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन सेन्टर स्थापना गर्ने भएपछि शुक्रबार एक सूचना जारी गरी अहिलेसम्म प्रदान गर्दै आएको सेवा भदौ ८ गतेदेखि वडा नं २ को परिसरमा रहेको आकस्मिक (इमर्जेन्सी) भवनबाट सञ्चालन गर्ने जानकारी गराएको थियो । यसअघि सो केन्द्रबाट विरामी जाँच, परिवार नियोजन, गर्भवती जाँच, क्षयरोग उपचार सेवा प्रदान गर्दै आएको थियो ।
केहीदिन अघि उपत्यकाका नगरपालिका प्रमुखको बैठकले उपत्यकामा पाँच हजार शय्या क्षमताको आइसोलेसन सेन्टर निर्माण गर्ने निर्णय अनुसार टोखा नगरपालिकाले पनि आइसोलेसन सेन्टर विस्तार गरेको हो । नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले अहिले १७ शय्या क्षमताको आइसोलेसन सेन्टर स्थापना गरिएपनि आगामी दिनमा बिरामीको चापलाई हेरेर १०० शय्यासम्म पु¥याउने जानकारी दिए।
यो नगरपालिकामा हालसम्म ९२ जना कोरोना सङ्क्रमित छन् । तीमध्ये २९ जना निको भएर घर फर्केका र ६३ जनाको उपचार भइरहेको नगरप्रमुख अधिकारीले जानकारी दिए। यस्तै नगरपालिकाले चाँडै नै अन्य वडामा समेत आइसोलेसन सेन्टर विस्तार गर्दै जाने बताइएको छ ।
प्रकाशित मिति : August 22, 2020 at 6:35 pm



