११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

औपचारिक शिक्षाः चर्को विज्ञापनले भ्रमित अभिभावक र सपना विहिन पुस्ता

-अर्जुन पाण्डे

आज घरबाट निस्केर पाँच मिनेट हिड्ने हो भने कम्तिमा एउटा शैक्षिक संस्थाका बोर्ड देख्न सकिन्छ । अलि पर अर्को, अनि अर्को । नियालेर हेरौंः अधिकांश प्राइभेट शिक्षाण संस्था हुन् । प्रश्न उठ्नु स्वभाविक छ, यतिका शिक्षण संस्था किन ? संसारभरका करोडौँ अभिभावकहरुमा आज एउटा यस्तो विश्वासले जरा गाडेको छ जुन उखेलिनु भन्दा झन झन गाडिँदो छ । यो विश्वास सितिमिति उखेलिने सम्भावना पनि छैन । स्थापित विश्वास छः औपचारिक शिक्षाले सन्ततिको भविष्य बन्छ ।

आर्थिक उत्थान हुन्छ र परिणामतः आफ्नो पछिल्लो जीवनको सुख पनि सुनिश्चित हुन्छ । समग्र परिवेश त्यस्तै छ, चौतर्फी अर्ति उपदेश पढाई लेखाईप्रति सम्मोहित हुनु अपरिहार्य छ । यथार्थमा यो एउटा मृग मरिचिका बाहेक केहि होइन भन्ने ज्ञान धेरैलाई छैन । हाम्रो जस्तो देशमा कलेज डिग्रीको पछि दौडनु भन्दा व्यावसायिक संसारमा उडान भर्नुले जीवनलाई कहाँको कहाँ पुर्याउँछ भनेर सोच्ने परम्परा हाम्रो छैन ।

थोरैलाई केहि समय होस आउँछ तर जतिबेला उनिहरुलाई यो बोध हुन्छ, त्यतिबेला सम्ममा उसको धेरै धन, उर्जा र समय खर्च भैसकेको हुन्छ । स्कूल जीवन शुरु गर्दाको बखतदेखि एउटै ध्याउन्न हुन्छः पढाइमा प्रतिस्पर्धा गर्ने, अरु भन्दा राम्रो श्रेणीमा उत्तीर्ण हुने, सबैको स्यावासी पाउने एक प्रकारको अफिम भन्दा कडा लत नै लाग्दछ । यस्तो लत पहिलो दोश्रो श्रेणीमा उत्तीर्ण हुने विद्यार्थीहरुमा झन बढी हुन्छ । वास्तवमा त्यही लतमा लठ्ठीँदै स्कूलदेखि कलेजको ढोकासम्म पुगेको पत्तो पाउन्न ।

मनोवैज्ञानिक यथार्थ

आज देशीय तथा अन्तरदेशीय रुपमा शिक्षामा व्यापारको खेल यति ठूलो छ कि त्यसले व्यापारी त मोटाउँछन् नै साथै शिक्षाका अधिकारीहरु समेत टिलिक्कै टल्किएका छन् । नहिचकिचाइ भन्ने हो भने शिक्षाको व्यापार मानिसको मनोवैज्ञानिक र बाध्यात्मक अवस्था माथिको शोषण हो । मानिस आफूलाई भन्दा आफ्ना छोरा छोरीलाई बढी माया गर्दछ ।

यो एक अभिभावकीय मनोविज्ञानको स्वभाव हो । एउटा बाबु आफ्नो जीवन भन्दा आफ्ना सन्तानको जीवन समृद्धहोस, सुखीहोस् र प्रतिष्ठित होस् भन्ने चाहन्छ । यो सपनालाई साकार पार्न उ आफ्ना चहनाहरुलाई तिलान्जली दिन्छ, दुःख सहन्छ, चुनौतिहरु झेल्छ, ऋण सहन्छ, आफ्नो गाँस काट्न परे काट्छ, हरेक कष्ट बेहोर्छ ।

यस्तो अनुभव गर्ने नेपालका धनाढ्य व्यापारी विनोद चौधरी पनि हुन् । उनी आफ्नो पुस्तकमा लेख्छन् सबै आमाबाबु आफ्ना सन्तानलाई यस्तो बाल्यकाल दिन चाहन्छन्, जुन उनीहरुले पाएनन् । यस्तो ठाउँमा पढाउन चाहन्छन्, जहाँ उनीहरु जान सकेनन् । यसरी हुर्काउन चाहन्छन्, जसरी हुर्किन पाए हुन्थे भन्ने उनीहरुले सँधै कल्पना गरे ।

एउटा अभिभावक छोरा छोरीको भविष्यमा आफ्नो भविष्य देख्तछ । तसर्थ उ राम्रो शिक्षा दिक्षाको अवसर दिन आफ्नो बर्कतले भ्याएसम्मको बल बर्कत लगाउँछ । यो पुनित कार्यका खातिर उ आफ्नो सुख सुविधालाई त्याग्न तत्पर त हुन्छ नै साथै छोरा छोरीको शिक्षामा कुनै कमी हुन नपाओस् भनि आफ्नो सम्पूर्ण ताकत, धन, जीवन समर्पित गर्दछ । यस्तै मनोबैज्ञानिक पृष्ठभूमिमा हुर्केको उसलाई, छोरा छोरीको भविष्य उज्वल बनाउने महान अभिलासाले धकेल्दै धकेल्दै स्कूल कलेजको ढोकासम्म पुर्याउँछ ।

अभिभावकको यो भावना र समर्पण नै उसको सबैभन्दा ठूलो कमजोरी हो, मर्म हो तर व्यापारको संसारमा भने तातेको फलाम जस्तै हो जसलाई जति जोड्ले पिट्यो उती आफूले चाहेको आकारमा ढाल्न सकिन्छ । शिक्षाको व्यापार समाजको अत्यन्त सम्मानित सहज नाफामूलक व्यापार हो तर दृष्यात्मक यो सुनको फ्रेममा सजिएको शिक्षा दान सेवा हो, विकासको आधार हो, देशको कर्णधार निर्माण गर्ने पूण्य कर्म हो । यो देशको भविष्य निर्माण हो जसलाई सेवा नामको मखमली आवरणले छोपिएको छ । विद्या धनं सर्ब धनं प्रधानं नाम त्यत्तिकै पवित्र छः सरस्वतीको मन्दिर । तर यो मन्दिर भित्र नपत्याउँदो व्यापार झाँगीदो छ ।

चर्को विज्ञापन, भ्रमित अभिभावक

आज हाम्रो समाजको हरेक तप्का र नयाँ पुस्ता विज्ञापनको कोकोहोलोमा नराम्ररी फस्दैछ । जब एउटा अभिभावक आफ्नो सन्तानलाई लिएर कलेजको ढोकामा पुग्छ तब त्यहाँ ठूला ठूला बोर्डहरुमा सुकिला, फूर्तिला, डाक्टर, इन्जिनियर र पाइलटका तस्विरहरु देख्छ । ती सुकिला डाक्टर, इन्जिनियरहरुमा उसले आफ्नो छोरा छोरीको अनुहार खोज्छ । आहा, यो स्थानमा मेरो सन्तान पुग्नेछ । तर यथार्थमा, सयौं विद्यार्थीमा धेरै बर्ष पछि एक्का, दुई डाक्टर वा इन्जीनियर बन्ने हुन् । अधिकांशको हातमा त सामान्य प्रमाण पत्र नै थमाइन्छ ।

म सम्झन्छु । मेरो सानो छोरा टुकु टुकु हिँड्थ्यो त्यतिबेला । म उसलाई लिएर बजार वा मेला हेर्न जान्थेँ, त्यहाँ अलि पर बेलुनवाला बेलुन फुक्दै धागोले बाँधेर हावामा उडाउँदै हुन्थ्यो । जब उसले म जस्ता साना छोरा, छोरी डोर्याएर हिँडेको बाबुआमा देख्दथ्थो तब उ तिनका नजिक नजिक आउँथ्यो । सानो छोराले नदेखोस् भनेर म अलि अगाडी बढ्थेँ तर त्यो बेलुनवाला झन मेरो अगाडी अगाडी हिँडन आइपुग्थ्यो । अगाडी बेलुनवाला पछाडी म । अब सानो छोरालाई बेलुन नभै भएन । किन्नै पर्ने । म बेलुनवाला देखि भित्र भित्रै रिसाउँथेँ । तर मेरो रिसले उसको व्यापार छेक्न सक्दैनथ्यो ।

एउटा सामान्य बेलुनवालालाई थाहा छः हरेक बाबुआमा आफ्ना साना छोरा छोरी खुसी भएको हेर्न चाहन्छन् । मन नभए पनि त्यस्तो बस्तु किन्छन् । त्यो बेलुनवाला मेरो अगाडी हिँड्नुको अर्थ व्यापार सुनिश्चित गर्नु हो । यो एउटा सानो व्यापारको उदाहरण हो जुन बाबुआमाको आफ्ना छोराछोरी प्रीतको भावनाले निर्देश गर्छ । एउटा सामान्य बेलुनवाला उसको व्यापारको कडी जान्दछ भने सिंगै भविष्य निर्माण गर्ने जस्तो अहं विषयमा कस्तो व्यापार हुन्छ होला ? मानिसलाई सम्मोहित गर्न कस्ता कस्ता श्रब्य दृष्यका अत्याधुकिक साधनहरु उपयोग गरिएला ? सोझै अनुमान लगाउन सकिन्छ ।

पढाइका विषय कस्ता ?

साँच्चै समृद्धि चाहने हो भने शिक्षाको आवश्यकता त्यहाँसम्म छ जहाँसम्म शिक्षाले दिने व्यावहारिक उपयोगिता छ । जीवनलाई उपयोग नहुने शिक्षा लिनु समय, धन र उर्जाको खती मात्र हो । प्रसिद्ध विद्धान बेन फ्रांक्लिन भन्छनः यदि मानिसले दिमागको निम्ति धन लगानी गर्छ भने त्यो कसैले पनि खोस्न सक्दैन ।

ज्ञानको निम्ति गरिएको लगानीले जीवनभर उच्च दरको व्याज दिन्छ । यो उक्तीसंग असहमत हुनुपर्ने कुनै कारण छैन । यो सत्य हो । ज्ञानको निम्ति गरिएको लगानी नै सबैभन्दा ठूलो लगानी हो । यसमा विवाद छैन । तर कस्तो ज्ञानको निम्ति लागनी गर्ने ? प्रश्न यो हो । आजका पुस्ताले विश्वविद्यालय गएर लिने ज्ञान कस्तो छ ? के त्यो ज्ञान उसको जीवन समृद्ध बनाउन सहयोगी छ ?

इलोन मस्क, अमेरिका, क्यानाडा र दक्षिण अफ्रिकाका नागरिकता प्राप्त, एक धनाढ्य र सफल व्यावसायी हुन्, जो दर्जानौं व्यापारिक संगठनका संस्थापक, पनि हुन्, भन्छन्ः कलेजहरुमा प्राप्त गरिने औपचारिक शिक्षा भनेको मस्तिष्कमा डाटाहरु डाउनलोड गर्नु जस्तै हो जुन डाटा तिम्रा जीवनमा कहिले प्रयोगमा आउँछ तिमिलाई थाहा हुन्न ।

इलोन मस्कको तर्कमा आफ्नै पनि मर्म लुकेको, अत्यन्त तितो सत्य भेट्छु म । विश्वविद्यालयमा मैले अंग्रेजी भाषा शिक्षण विषय पढेको हुँ । भाषा विज्ञानमा ध्वनी विज्ञान को एउटा सिंगो शास्त्र छ । ध्वनीको निर्माण, ध्वनीको बर्गिकरण, तीनको प्रयोग आदि जान्न, प्रयुक्त ध्वनिहरुको पहिचान गर्न र भिन्नता छुट्याउन ठूलै कसरत गर्नु पर्ने हुन्छ ।

जिभ्रो बटारेर, ओठ बंग्याएर अफ्ठ्यारा ध्वनिहरुको उच्चारण अभ्यास देखी लिएर तिनले शब्द निार्माण र अर्थमा पार्ने भिन्नता केलाउँन पूरै चार बर्षको माथापच्चिसी गरियो । तर परिक्षा सकिएको भोलिपल्ट देखि त्यो शास्त्रलाई दराजमा थन्क्याउनुको विकल्प भएन । आज पनि दराजमै छ । त्यो विषयको उपयोगिता कस्तो थियो त ? के ति बेक्कार थिए ? होइन । विषय उपयोगी नै थिए ।

कुनै नयाँ भाषाका ध्वनीहरुको अध्ययन गर्न अफ्रिका महादेश वा त्यस्तै ठाउँमा जाने हो भने काम लाग्ने रहेछ त्यो विद्या । आज फर्केर हेर्छु, तेत्रो मेहनत, चार बर्षको समय र धन खर्च गरेर यस्तो विषय पढिएछ । यदि तेत्रो माथापच्चिसी समय र बर्कत कुनै व्यावसायिक करिअरको जग बसाउन लगानी गरेको भए ?

विश्वविद्यालयमा पढाई हुने अन्य विषयहरु त्यस्तै छन् । डार्विनका सिद्धान्त, न्युटनका नियम, पाइथागोरसको सिद्धान्तदेखि माल्थसका जनसंख्या सिद्धान्त आदि शास्त्रहरु छन् । सूची लामै हुन्छ जसमा दिमाग खियाइ सकेर एउटा युवा जब कलेजको पढाइ पूरा गर्छ र व्यावहारिक जीवनमा फर्कन्छ तब उसले आफैलाई सोध्छ, मैले पढेका विषयहरु जीवनमा कहाँ उपयोग गरुँ ?
औपचारिक शिक्षा अनावश्यक हो त ?

कलेजका डिग्रीले जीवन बदल्दैन तर गुजारा चलाउन भने सकिन्छ । यसो भनिरहँदा एउटा प्रश्न उठ्क्छ, त्यसो भए के औपचारिक शिक्षा अनावस्यक हो त ? होइन । के औपचारिक शिक्षाको महत्व छैन त ? छ । समाजमा औपचारिक शिक्षाको आफ्नै महत्व र भूमिका हुन्छ । निश्चय नै औपचारिक शिक्षा हरेक समाजको अपरिहार्य शर्त हो । औपचारिक शिक्षाको खातिर हरेक देशका सरकारहरुले ठूलो धनराशी खर्च गरिरहेछन् ।

राष्टिय बजेटको ठूलो हिस्सा औपचरिक शिक्षाको निम्ति छुट्याएका छन् । हरेक देशमा हज्जारौं स्कूल कलेजहरु छन्, विश्वविद्यालयहरु छन् । अधिकांश त राज्यद्धारा र कैयौैं निजीस्तरमा संचालित छन् । शिक्षाको महत्व असिमित छ र शिक्षाको विकल्प शिक्षा नै हो अरु होइन । शिक्षा विना पढ्न लेख्न र सामान्य हिसाव किताव गर्न समेत सकिन्न ।

कुनै बस्तु वा विचार माथि विचार विमर्श गर्न, व्याख्या विश्लेषण गर्न शिक्षाले नै मानिसलाई योग्य बनाउँछ । शिक्षा सभ्यताको मेरुदण्ड हो । यसको अलावा शिक्षाले समाजमा पार्ने सकारात्मक प्रभाव असिमित छ । शिक्षाले नै मानिसलाई के सही के गलत छुट्याउन सक्षम बनाउँछ । शिक्षित समाजमा आधारभूत रुपमा अपराध र अपराधी प्रबृत्ती न्युन भएको पाइन्छ । कानुनी राज्य र सभ्य समाज शिक्षाद्धारा नै निर्मित हुन्छ ।

अन्तमा,

निश्कर्षमा केनेडियन अरबपती, सफल व्यापारी, लेखक तथा टीभी कार्यक्रम प्रस्तोता केभिन लीयरीको भनाइ लिउँः उनि भन्छन् प्रायः विद्यार्थी आफू के पढ्दैछु र आफ्नो सपना के हो त्यो बुझ्दैनन् । उनीहरु सोच्दछन् कि कुनै पनि हालतमा ऋण धन गरेर होस् वा जसरी भए पनि कलेज डिग्रि लिइहालुँ । यो लिन पाए तुरुन्तै जागीर पाइन्थ्यो र ऋणको भारबाट मुक्त भइन्थ्यो । यो विचार सही होइन ।

आजका युवा आफ्नो जीवनले के मागिरहेको छ ख्याल नगरी अन्धा धुन्दा कलेज डिग्रीको पछी भीडमा कुद्छन् । त्यो नै सबैभन्दा ठूलो भूल हो । कलेजको डिग्री जीवन होइन । डिग्री जीवनको निम्ति हुनुर्छ । अर्को ठूलो भूल हो सपना देख्न डराउनु । सपना विहिन आजका नयाँ पुस्तालाइ हरेक अभिभावकले सोध्नु पर्छः तिम्रो सपना के हो ? विना सोच विचार आँखा चिम्लेर दौडनु भन्दा आफ्नो सपनालाई पछ्याउनु नै श्रेयष्कर हो ।

यदि गन्तब्य नै छैन भने यात्राको तामझाम किन ? हो, कलेजका औपचारिक डिग्री राम्रो हो तर आफ्नो जीवनको सपनासंग मेल खाने भयो भने मात्र । यदि कलेजको शिक्षा आफ्नो सपना र भविष्यको योजनासंग मेल खाँदैन भने उच्च शिक्षाको नाममा समय, पैसा र मेहनत खर्च गर्नु हुन्न । यो समय, मेहनत र पैसा सबैको बर्बादी मात्र हो । तर कुनै प्राविधिक क्षेत्रमा शीप हासिल गर्ने लक्ष छ भने, डाक्टर, इन्जिनियर, वकिल आदिको लाइसेन्स लिने इरादा छ भने पक्कै पनि विश्वविद्यालय भन्दा बाहिर त्यो सम्भव हुन्न ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार १२:४४