थला परे होस्टल व्यवसायी, धान्न नसकेपछि पलायन हुँदै
२ भदौ, काठमाडौँ । विश्वव्यापी महारमारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण होस्टल व्यवसाय संकटमा परेको छ। हरेक वर्ष ५० हजार बढि विद्यार्थीहरुलाई सेवा दिँदै आएको निजी क्षेत्रका होस्टल व्यवसायीहरुको कोरोनाको चपेटामा परेका हुन्। कोरोना संक्रमण न्यूनीकरणका लागि जारी भएको लकडाउनपछि व्यवसाय ठप्प छन्। होस्टलमा विद्यार्थी नहुँदा र सरकारले समेत समस्या सम्बोधन नगर्दा घरभाडा तिर्न नै समस्या भएको व्यवसायीहरुको भनाइ छ। अहिले सबैभन्दा ठूलो समस्या घरभाडा तिर्नु रहेको नेपाल होस्टल एशोसिएसनका अध्यक्ष भक्ति पाठकले बताए। ‘घरभाडा नै सबैभन्दा ठूलो समस्या हो।

गाँस र बासको पनि समस्या छ। सञ्चालक कर्मचारी सबै समस्यामा परेका छन्,’ उनले भने। देशभरी १५ सय होस्टल व्यवसाय सञ्चालनमा छन्। जसमा ८ हजार बढी कर्मचारी र १५ हजार व्यवसायीका आश्रित परिवार छन्। सवा अर्ब भन्दा बढी लगानी रहेको व्यवसायमा कोरोनाका कारण ठूलो समस्या उत्पन्न भएको उनले बताए। होस्टल सञ्चालनपूर्ण ऋण लिएका १५ प्रतिशत व्यवसायीहरु रहेको उनले बताए। होस्टल सञ्चालनपछि विद्यार्थीहरुले समेत समयमा शुल्क नदिँदा सञ्चालन खर्च जुटाउन समेत ऋण लिने व्यवसायीहरुको संख्या ठूलो छ। कोरोनाले होस्टल व्यवसायी पलायन हुने अवस्थामा पुगेको उनले बताए।
सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराएर राहत दिए व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था हुने नभए पलायन हुदै जाने उनको भनाई छ। घरबेटीलाई समेत अहिले भाडा छुट दिन र बाँकी रकम किस्तामा तिर्न मिल्ने गरी व्यवस्था गर्न माग गरिएको उनले बताए। नीति क्षेत्रका होस्टल व्यवसायीका लागि सरकारले तत्काल सुलभ व्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने व्यवसायीहरुको माग छ। घर बहालसम्बन्धी स्पष्ट नीति राज्यले ल्याउन सके होस्ट व्यवसाय मात्रै नभएर अन्य क्षेत्रले पनि लाभ लिन सक्ने उनले बताए।
दीर्घकालीन रुपमा निजी क्षेत्रबाट सञ्चालित होस्टलहरुलाई विद्यालय र कलेजकै होस्टल अनुसारको मान्यता र सेवा सुविधा दिनुपर्ने उनले बताए। सरकारले मौद्रिक नीतिमा अन्य क्षेत्रका व्यापार व्यवसायीहरुलाई केही राहत दिएपनि होस्टल व्यवसायीहरूका लागि कुनै कार्यक्रम नआएको गुनासो व्यवसायीहरुको छ। लक डाउनपछि ठप्प रहेका व्यवसायहरु लक डाउन खुकुलो भएपनि शैक्षिक गतिविधि सुरु नहुँदा अझै खुल्न सकेका छैनन्।
प्रकाशित मिति : August 18, 2020 at 2:25 pm



