१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

कोरोनाका कारण थप दुई जनाको मृत्यु

२ भदाै, काठमाडाैँ । कोरोना संक्रमणको कारण थप दुई जनाको मृत्यु भएको छ । काभ्रेमा एक र नेपालगञ्जामा एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या १०९ पुगेको छ ।

कोरोना संक्रमणबाट काभ्रेमा ९८ वर्षीया वृद्धको धुलीखेल अस्पतालमा मृत्यु भएको छ । धुलिखेल ७ घर भएका वृद्धको कोरोनाका कारण मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । बृद्ध साउन २७ गते कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना भएका थिए । जिल्ला स्वास्थ्य कार्यालयले वृद्धका छोरा र बुहारीमा पनि कोरोना संक्रमण देखिएको जनाएको छ।

यस्तै कोरोनाका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या जिल्लामा चार पुगेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले नेपालगञ्ज उपमहानगरपालिका–५ का ६२ बर्षिय जडीबुटी व्यवसायी समाजसेवी मुस्लिम समुदायका पुरुषको सोमवार राति ११ः४० बजे नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको पुष्टि गरेका छन ।

बृद्धलाई ३० साउनमा लक्षण देखिएपछि परिवारका सदस्यले ३२ साउनमा उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरेका थिए । कोरोनाको लक्षण देखिएपछि अस्पतालको आइसोलेसनमा राखेर उनको उपचार शुरु गर्नुका साथै पिसिआर जाँचका लागि स्वाब लिइएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले जनाएको छ । सोमवार दिउँसो ३ बजे उनको नमुना परीक्षणको नतिजा पोजेटिभ अाएको थियो ।

प्रकाशित मिति : August 18, 2020 at 9:54 am