१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

भारतमा एकै दिन थपिए ६७ हजार काेराेना संक्रमित

२९ साउन, नयाँदिल्ली । कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या भारतमा एकै दिन झण्डै ६७ हजार थप भएको छ । भारतीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६६ हजार ९९९ जना नयाँ सङ्क्रमित भेटिएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा कम्तीमा ९४२ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि जनाएको छ । योसँगै भारतका कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या ४७ हजार ३३ पुगेको छ ।

त्यसैगरी भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या २३ लाख ९६ हजार ६३८ पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये छ लाख ५३ हजार ६२२ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने १६ लाख ९५ हजार ९८२ जना सङ्क्रमणमुक्त भएका छन् ।अधिकारीहरुका अनुसार सबैभन्दा धेरै महाराष्ट्रमा एक लाख ४७ हजार ८२० जना र दोस्रो धेरै आन्ध्र प्रदेशमा ९० हजार ४२५ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

यसैबीच कोरोना भाइरसका कारण विश्वभरी सङ्क्रमित भएकाहरुको संख्या दुई करोडभन्दा बढी पुगेको छ । पछिल्लो विवरण अनुसार विश्वभरी दुई करोड एक लाख ६२ हजार ४७४ जना सङ्क्रमित भएका हुन् । कुल सङ्क्रमितमध्ये दुई लाख १४ हजार ९८५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका जनाइएको छ । त्यसैगरी चार हजार ८३५ जनाको सोही अवधिमा मृत्यु भएको छ ।

योसँगै विश्वभरी कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या सात लाख ३७ हजार ४१७ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओले गत मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो ।

प्रकाशित मिति : August 13, 2020 at 1:10 pm