१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

स्थानीय सरकारको ब्रह्मलुटः एउटा तन्नाको ८०७१ रूपैयाँ र सिरानीको खोलको २८७६ रुपियाँ मूल्य

२६ साउन, काठमाडाैँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दीबासको कार्यालयले सिरहा नगरपालिकाको कार्यालयमा छापा मारी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गरेको रकमको कागजातहरू छानबिनका लागि नियन्त्रणमा लिएको सोमबारको गोरखापत्र दैनिकमा समाचार प्रकाशित भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका अधिकृत नवराज सुवेदीको नेतृत्वको टोलीले आइतबार अपरान्ह ४ः०० बजे सिरहा नगरपालिकाको कार्यालयमा छापामारी कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रण गर्न खरिद गरेको खरिदसम्बन्धी कागजात छानबिनको लागि नियन्त्रणमा लिएको हो ।

अख्तियार बर्दिबासका प्रमुख मणिराम ज्ञवालीले नगरपालिकाले कोरोना नियन्त्रणमा खर्च गरेको विवरणमा अनियमितताको गुनासो आएपछि आयोगको टोलीले छानबिन थालेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय सिरहाले गत साउन १० गते सिरहा जिल्लाको सम्पूर्ण स्थानीय तह तथा सरकारी कार्यालयलाई गत वर्ष भए गरेका काम कारबाहीको खर्च विवरण आफ्नो कार्यालयको वेबसाइटका साथै जिल्ला प्रशासन कार्यालयमा समेत पठाउन निर्देशन गरेको थियो ।

प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट त्यस्तो निर्देशन आएपछि स्थानीय तहले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणमा भएको खर्च विवरण पठाएका थिए । स्थानीय तहहरूले पठाएको खर्च विवरण प्रशासनले सार्वजनिक गरेपछि सिरहा नगरपालिकाको खर्च विवरणले चर्चा पाएको थियो ।

सिरहा नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि पाँच करोड ९० लाख ८६ हजार ४३० रुपियाँ खर्च गरेको विवरण पठाएको थियो । उक्त विवरणमा अधिकांश सामग्रीको मूल्य बजार भाउभन्दा अत्यधिक बढी देखाइए पनि सबैको ध्यान क्वारेन्टाइनमा राखिएकाहरूलाई सुत्न व्यवस्था गरिएको डस्ना, तन्ना र तकिया (सिरानी)को खोलप्रति केन्द्रित भएको थियो ।

सिरहा नगरपालिकाले प्रति डस्नामा एक हजार ४९० रुपियाँ, प्रति तन्नामा आठ हजार ७१ रुपियाँ तथा प्रति तकिया (सिरानी)को खोलमा दुई हजार ८७६ रुपियाँ खर्चिएको देखाइएको छ । नगरपालिकाले ३०६ थान डसना चार लाख ५५ हजार ८५० रुपियाँमा, ५५८ थान तन्ना ४५ लाख तीन हजार ७७५ रुपियाँमा तथा १११ थान तकिया (सिरानी)को खोल तीन लाख १९ हजार २७५ रुपियाँमा खरिद गरेको विवरण सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : August 10, 2020 at 8:56 am