१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

महिलामाथि सामुहिक बलात्कारपछि नगद समेत चाेरेर फरार नुवाकाेटका युवा पक्राउ

२४ साउन, काठमाडाैँ । नुवाकोटको शिवपुरी गाउँपालिकामा गत चैतमा पाँच जनाको समूहमा आई एक महिलालाई बलात्कारपश्चात् चोरी गरी फरार रहेका आरोपितलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । शिवपुरी गाउँपालिका–५ स्थित कुखुरे घर भएका ३७ वर्षीया एक महिलालाई गत वर्ष ०७६ चैत २ गते आफ्नै घरमा सुतिरहेका अवस्थामा चारपाँच जनाको समूहले जबर्जस्ती करणी गरी दराजभित्र रहेको नगद र मोबाइल फोन चोरी तथा डाँका गरी फरार रहेकामा नुवाकोट प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।

फाइल फाेटाे

घटनापश्चात् फरार प्रतिवादीले हतारमा आफूले बोकेको मोबाइल फोन घटनास्थलमा छाडी फरार रहेको हुँदा कलडिटेल्स तथा कलवाइज टावर लोकेशन हेर्दा मोबाइल फोन प्रयोगकर्ता शिवपुरी गाउँपालिका–५ का २५ वर्षीय उमेश तामाङ रहेको र सोही फोनबाट अरु प्रतिवादीलाई समेत पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक फुयाँलका अनुसार घटनामा संलग्न प्रतिवादी उमेशसहित दुप्चेश्वर गाउँपालिका–५ का ३५ वर्षीय सानोकान्छा तामाङलाई काठमाडौँको सिआइबीसमेतको संयुक्त टोलीले खोजी गरिरहेको थियो । प्रहरी निरीक्षक फुयाँलका अनुसार पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका–५ का ३५ वर्षीय रमेश तामाङ र लिखु गाउँपालिका– २ का ३६ वर्षीय भूपेश घलेलाई आज जबर्जस्ती करणी तथा डाँकासम्बन्धी कसुर मुद्दाअन्तर्गत अनुसन्धानपश्चात् जिल्ला अदालतमा थप अनुसन्धानका लागि पठाइएको छ । घटनामा संलग्न पाँच फरार प्रतिवादीमध्ये चार जनालाई नुवाकोट प्रहरीले पक्राउ गरी अनुसन्धानका दायरामा ल्याएको छ ।

प्रकाशित मिति : August 8, 2020 at 8:52 am