पिसिआर परीक्षण गरेका व्यक्तिलाई रिपोर्ट नआएसम्म सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
२३ साउन, काठमाडौँ । कोरोना आशंका भई पिसिआर परीक्षण गराउने व्यक्तिहरूले रिपोर्ट नआएसम्म सावधानी अपनाउन सरकारले आग्रह गरेको छ। कतिपय व्यक्तिहरूले आफूलाई कोरोनाकाे शंका गरी परीक्षण गराउनेको संख्या बढिरहेको छ। कोरोना परीक्षणको लागि पिसिआर गरी आएका जो कोहीले घरमै सुरक्षितसँग रहन स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले अनुराेध गरेका छन्। डा. जागेश्वर गौतमले भने ‘यदि तपाईंको काेराेना परीक्षण रिपोर्ट पोजिटिभ आयो र तपाईले सावधानी नअपनाउनु भएको भए तपाईले सम्पर्क गर्नुभएका र तपाईंसँग सम्पर्कमा आएका व्यक्ति, समूह एवम् समाजमा संक्रमण भएको हुन सक्छ ।’

घर, अफिस, मेलापात, भेटघाट जहाँ आफ्नो सक्रिय जीवनयापन गरिरहनुभएको छ जनस्वास्थ्यको मापदण्ड अपनाउनलाई गौतमले आग्रह गरेका छन्। सामाजिक दूरी कायम गर्ने, मास्क सही रूपमा प्रयोग गर्ने, सरसफाइमा ध्यान दिने जस्ता क्रियाकलापहरू गर्न पनि गौतमले सुझाव दिएका छन्। ‘कोराेना एउटा पाण्डेमिक भाइरस हो, यसको संसारमा कहीँ कतै पनि अझैसम्म उपचार हुने औषधि पत्ता लागेको छैन,’ गौतमले भने,’ अतः संक्रमण रोकथामका लागि सावधानी अपनाउनु नै महत्वपूर्ण प्रभावकारी उपाय हो।’
प्रकाशित मिति : August 7, 2020 at 5:48 pm



