१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

पाटन अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु

२३ साउन, ललितपुर । पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माका अनुसार शुक्रबार अस्पतालमा उपचाररत ४१ वर्षीया महिला र ४५ वर्षीय पुरुषको मृत्यु भएको हाे।

४१ वर्षीया काेराेना संक्रमित महिला क्यान्सरबाट पीडित थिइन् । सुनौली घर भएकी मृतक महिलालाई पाठेघरको क्यान्सर थियाे । काेराेना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार भइराखेकोमा उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको हाे ।

फाइल फाेटाे

यस्तै अर्का सर्लाही घर भएका ४५ वर्षीय पुरूषको बिहान साढे ९ बजे मृत्यु भएको हाे । कुकुरले टोकेर अस्पताल भर्ना भएका उनकाे कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर उपचार भइराखेको थियो।

यसअघि पाटन अस्पतालमै बिहीबार राती ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो । ती पुरुष साउन १७ गते स्टार अस्पतालबाट रिफर भएर पाटन अस्पताल आएका थिए । उपचारका क्रममा मृत्यु भएका ४५ वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : August 7, 2020 at 2:53 pm