२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

नुवाकोटमा पिसिआर ल्याब स्थापना गरिने

२३ साउन, विदुर । नुवाकोट क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले त्रिशूली अस्पतालमा पिसिआर ल्याब परीक्षण मेशिन खरिद सञ्चालनका लागि रु ७६ लाख दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नुवाकोट कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लास्थित त्रिशूली अस्पतालमा पिसिआर ल्याब स्थापना तथा सञ्चालन गर्नका लागि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत सांसद खतिवडाले कोरोना परीक्षणका लागि पिसिआर मेशिन खरिद गर्न बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

खतिवडाका अनुसार जिल्लामा कोरोना परीक्षणका लागि ढिलासुस्ती नहोस् र सर्वसाधारणले चाँडै परीक्षण भई उपचार पाउने छन् भन्ने उद्देश्यले पिसिआर ल्याब मेशिन खरिद गर्नलाई बजेट दिने निर्णय गरिएको हो । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले तत्कालै पिसिआर ल्याब मेशिन खरिद गर्नका लागि नगरपालिकाले बोलपत्र प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।

पछि नगरपालिकाको रकमलाई स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत विदुर नगरपालिकालाई स्रोतभर्ना गरिनेछ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले छिमेकी धादिङ र रसुवामा समेत कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको हुनाले समुदायस्तरमा सङ्क्रमण फैलिने जोखिम कम गर्न पनि पिसिआर ल्याब स्थापना हुन जरुरी रहेको बताउनुभयो ।

प्रकाशित मिति : August 7, 2020 at 1:19 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/