५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गोरखा प्रशासनद्वारा काम नगर्ने एनबी कन्स्ट्रक्सनको ठेक्का रद्द, कालो सूचीका लागि सिफारिस

१५ जेठ, गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले काम नगर्ने एनबी कन्स्ट्रक्सनको ठेक्का सम्झौता रद्ध गरेको छ । दुई वटा विद्यालयको भवन निर्माणको ठेक्का लिएको कम्पनीले काममा लापरवाही गरेपनि प्रशासनले ठेक्का सम्झौता रद्द गरेको हो ।

एक वर्षभित्र बिद्यालय भवन निर्माण गर्ने सम्झौता भए पनि म्याद थप गर्दासम्म काम सम्पन्न नभएपछि ठेक्का रद्द गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताएका छन ।

तस्बीरः अनलाइनखबर डटकमबाट ।

आरुघाट गाउँपालिका आरुआर्वाङस्थित स्थानीय आधारभूत विद्यालय र धार्चे गाउँपालिका लापुस्थित कालरात्री माविको भवन निर्माण गर्न पद्धति विकास सेवा केन्द्र र गुड नेवर्स नेपाल नामक गैरसरकारी संस्थासँग ठेक्का लिएको एनबी कन्स्ट्रक्सनले समयमा काम पूरा गरेको थिएन ।

प्रमुख जिल्ला अधिकारीले एनवी कन्स्ट्रक्सनलाई कालो सूचीमा राख्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तरगत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयमा पत्र पठाइएको पनि जानकारी दिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलवार १५:१६