१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

ठेकेदारको ढिलासुस्तीले साँफेबगरकाे स्थानीयवासीलाई सास्ती

१२ जेठ, अछाम । अछामको मुख्य व्यापारिक केन्द्र साँफेबगर बजार भित्रको सडक निर्माणको कार्यमा ढिलासुस्ती भएको छ । बजार भित्रको ३५० मिटर लम्बाइको सडक कालोपत्रे गर्ने कार्य एक वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । सडक निमार्णमा ढिलाइ हुन थालेपछि स्थानीयवासी आक्रोसित हुन थालेका छन् ।

स्थानीयवासीले ठेकेदारको मनपरीका कारण आफूहरुले हिउँदमा धुलो र वर्षायाममा हिलोको समस्या भोग्नुपरेको व्यापारी रुपबहादुर कुँवरले बताउनुभयो । “यही सडकमा केन्द्रदेखि प्रदेशका सांसद हिँड्छन् तर सडक अहिलेसम्म किन बनेन भनेर कसैले चासो देखाएनन् ”कुँवरले भन्नुभयो । जिल्ला समन्वय समितिका सभापति र साँफेबगर नगरपालिकाका प्रमुखसमेत यही बजारमा बस्छन् तर सडकप्रति ध्यान भने कसैलाई छैन ।’ सम्बन्धित निकायलाई थप जिम्मेवार बनाउन कडा दबाबमूलक कार्यक्रम गर्ने अर्का व्यापारी पुरन कुँवरले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “अब त जनप्रतिनिधि आइसकेपछि विकास निमार्णका कार्य तीव्रगतिमा अगाडि बढ्छ भन्ने सोचेका थियौ तर यहाँ त ढलेको सिन्को समेत उठाउने कोही छैनन् । काम नगर्ने ठेकेदार जति नेताको संरक्षणमा छन् । अनि काम कसरी हुन्छ ? एक महिनामा सक्ने काममा एक वर्ष बित्यो ।” सडक एक महिनाभित्र कालोपत्रे गरीसक्ने गरी २०७४ जेठमा सम्झौता भएको थियो । रु ८० लाखको लागतमा कालोपत्रे हुनलागेको सडक एक वर्ष बित्न लाग्दा समेत सडकको साइड नाली बनाउने काम मात्र सकिएको छ । काम गर्ने जनशक्तिको अभाव र आवश्यक स्रोत साधनको अभावका कारण देखाउँदै निमार्णमा ढिलाइ भएको सडक निमार्णको जिम्मा लिएका केएम निमार्ण सेवाका सञ्चालक टंक कुँवरले बताउनुभयो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७५, शनिबार १४:४०