१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

गैरसरकारी संस्थालाई नियन्त्रण नभई नियमन गर्नुपर्ने सराेकारवालाको जोड

११ जेठ, काठमाडाैँ । सरकारले गैरसरकारी संस्थालाई नियन्त्रण नभई कडाइका साथ नियमन गर्नुपर्नेमा सराेकारवालले जाेड दिएका छन । गोगो फाउण्डेशनले शुक्रबार काठमाडाैँमा अायोजना गरेको ‘नेपालमा गैरसरकारी संस्थासम्बन्धी कानूनी संरचना’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरूले  नागरिक (गैरसरकारी) संस्थाले जागरण र सचेतनाका लागि महत्वपूर्ण काम गरेको उल्लेख गर्दै नियन्त्रणको सट्टा नियमन गर्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले समाज कल्याण परिषद्लाई बलियो बनाई सरकारले गैरसरकारी संस्थालाई नियमन गर्ने बताए । परिषद्को संरचनालाई नै परिमार्जन गरेर नियमनलाई कडा पार्न थालेको उनले बताए । सदस्य शाहीले सरकारी र निजी क्षेत्रको समन्वयबाट मात्र मुलुकको समृद्धितर्फ लैजान सकिने धारणा राखे ।

कार्यक्रममा नेकपाका सांसद यज्ञबहादुर सुनारले राज्यलाई समेत नटेर्ने गैरसरकारी सांस्थाकाे नियमन र नियन्त्रणा दुबै आवश्यक रहेको भन्दै व्यावहारिक रुपमा संस्थालाई सुधार्नुपर्ने बताए ।  कार्यक्रममा नेकपाकै सांसद नारायण खतिवडाले संस्थालाई राष्ट्रियता र सामाजिक विषयमा मात्र काम गर्न दिनुपर्ने बताए । उनले स्थानीय तहलाई नै नियमनको जिम्मा दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका सांसद किशोरसिंह राठौरले संस्थाले गरेका काम लक्षित वर्गसम्म पुग्यो कि पुगेन भनेर अध्ययन गर्नुपर्नेमा जोड दिए । अर्का सांसद रेखाकुमार झाले नयाँ कानून बनाई संस्थाका कामबारे अनुगमन गर्नुपर्ने बताइन । अनौपचारिक सेवा क्षेत्र केन्द्र (इन्सेक)का अध्यक्ष सुबोध प्याकुरेलले सरकारी निकायसँग नियमन गर्ने क्षमता र ज्ञान नै नभएको बताए ।उनले कागजीरुपमा मात्र अनुगमन हुने गरेको अारोप लगाए ।

कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्रीका कार्यालयका सचिव इन्दिरा दाहालले कानून र निर्देशन नदिँदा संस्थामाथि अनुगमन गर्न समस्या परेको बताइन । कार्यक्रममा समाज कल्याण परिषद्का उपाध्यक्ष लीलामणि उपाध्यक्षले पुरानो कानूनअनुसार गैरसरकारी संस्थालाई नियमन गर्नुपरेकाले राम्रोसँग अनुगमन हुन नसकेको स्वीकार गरे । उनले सरकारले नयाँ कानून दिए आफूहरुले संस्थालाई कडाइका साथ अनुगमन गर्ने जानकारी दिए ।

कार्यक्रममा गोगो फाउण्डेशनका कार्यकारी निर्देशक केदार खड्काले गैरसरकारी संस्थालाई मुलुकको समृद्धिमा लगाउनु पर्ने भन्दै नियमनको नाममा नियन्त्रण गर्ने प्रयास भैरहेको बताए । उनले सबै संस्था खराब नभएको भन्दै खराब कारबाही पनि गर्ने तर राम्रा काम गर्नेलार्इ अझै प्रोत्साहन गर्नेपर्नेल बताए ।

सम्पूर्ण कार्यक्रम तलको लिंकमा हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७५, शुक्रबार १३:०२