२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

नुवाकोटको गैरीगाउँमा चौबीसै घण्टा पानी सुविधा

८ जेठ, नुवाकोट । खानेपानीको चरम अभावले ‘काकाकुल बस्ती’का रुपमा परिचित तादी गाउँपालिका–६ गैरीगाउँमा अहिले चौबीसै घण्टा खानेपानी सुविधा उपलब्ध भएको छ ।

गाउँभन्दा तीन किलोमिटर टाढा रहेको तीन वटा मुहानको पानी संकलन गरी वितरण थालेपछि अहिलेको सुख्खायाममा पनि गैरीगाउँका ११४ घरधुरीमा पानीको पर्याप्त सुविधा भएको गैरीगाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष सीताराम तामाङले जानकारी दिए ।

सरकारबाट रु १९ लाख ६३ हजार तथा जिल्ला खानेपानी कार्यालय रु १५ लाख ७० हजार अनुदानका साथै स्थानीयवासीबाट रु तीन लाख ९२ हजारबराबरको श्रमदान जुटाइएको बताए ।

अध्यक्ष तामाङका अनुसार सबैको घरमा एक–एक वटा धारा जडान गरी चौबीसै घण्टा पानी उपलब्ध गराइएको छ । “सुख्खाबस्ती तर नजिकै पानीको मुहान नहुँदा कष्ट भोग्दै आएका बासिन्दाले पानी सहज भएपछि सरसफाइ, पशुपालन, करेसाबारीमा तरकारी लगाउन थालेको तामाङले बताए ।

उपभोक्ता समितिले पानी प्रयोग गर्ने प्रत्येक उपभोक्ताको धारामा मिटर जडान गरेको छ । न्यूनतम २० युनिटको रु ७५ र त्योभन्दा बढी प्रयोग गर्नेलाई प्रतियुनिट रु पाँच शुल्क लाग्ने नियम बनाइएको समितिका कोषाध्यक्ष कान्छाकाले तामाङले बताए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार १४:११