२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

भक्तपुरमै एक किशोरी सात दिनमा दुई जनाबाट बलात्कृत, जोखिममुक्त हुन सकिनन् किशोरी


–इन्द्रसरा खड्का

८ जेठ, काठमाडाैँ । राजधानीकै एक इँटा भट्टामा सुस्त मनस्थिती भएकी एक किशोरी आठ दिनको अवधिमा दुई जनाबाट दुई पटक बलात्कृत भइन् । बलात्कारी तत्काल पक्राउ परे । मुद्दा अदालत पुग्यो । पीडकलाई १०–१० वर्ष जेल र १०–१० हजार जरिवाना तिराउने फैसला पनि भयो । तर बलात्कृत किशोरी अझैं जोखिमुक्त हुन सकेकी छैनन् । न त उनले पीडकबाट भराइएको १०–१० हजार जरिवाना बापतको क्षति पूर्ति नै पाएकी छन् ।

घटनाबारे किशोरीकी आमाले यसो भनिन्ः

मेरो घर सल्यान हो । म ५ महिनादेखि भक्तपुरकोे अग्नि इँटा भट्टामा मजदुरी गर्छु । १० वर्ष अघि वैदेशिक रोजगारीमा गएका श्रीमान फर्केर आएनन् । न त हाम्रो गुजाराका लागि एक रुपैयाँ नै पठाए ।

उनी जिउँदै छन् कि मरिसके त्यो पनि थाहा छैन । गाउँमा छोराछोरीको पेट पाल्न नसके पछि गुजाराकै लागि इँटा भट्टामा काम गर्न आएँ । १७ वर्षकी सुस्त मनस्थिती भएकी छोरीसहित सात कक्षामा पठ्दै गरेकी अर्की छोरी र एक छोराको लालनपालन मेरै काँधमा छ ।

हामी टीनको सानो छाप्रोमा बस्छौ । सुस्त मनस्थिती भएकी मेरो जेठी छोरी राम्रोसँग बोल्न पनि सक्दिनन् । उनी २०७४ माघ १४ गते पहिलोपटक बलात्कृत भइन् । म काम गर्न गएकी थिएँ । माइलो छोरा र छोरी पनि मलाई सघाउँदै थिए । छाप्रोमा उनी एक्लै थिइन् ।

दिसापिसाब समेत कहाँ र कसरी गर्नु पर्छ भन्ने हेक्का नभएकी मेरी छोरीलाई यही इँटा भट्टामा काम गर्ने दाङको राजपुर गाउँपालिका वडा नम्बर २ का २२ वर्षीय वसन्त नेपालीले २०७४ माघ १४ गते बलात्कार गरे ।

दिउँसो करिब २ बजेको थियो । कान्छी छोरी पानी पिउन छाप्रोमा आएको बेला वसन्तले दिदीलाइ जबरजस्ती गरेको देखेपछि चिच्याइन् । उनी चिच्च्याए पछि के भयो भन्दै अरु काम गर्ने मजदुर जम्मा भए । प्रहरीलाइ खबर भयो । महानगरीय प्रहरी वृत्त ठिमीले वसन्तलाई पक्राउ ग¥यो ।

घटना सेलाएको थिएन । इँटा भट्टामा मेरो छोरी बलात्कार भएको कुरा सबैले कानेखुसी गर्थे । यस्तो कसैलाई नहोस् भन्थे । सहानुभूति दिन्थे । छोरीमाथि भएको यो बज्रपातले आँखाको आँसु सुकेका थिएनन् । दिन रात घटना सम्झेरै रोएँ ।

घटनाको आठौं दिनमा अर्थात् माघ २१ गते छोरीमाथि फेरि बलात्कार भयो । यही इँटा भट्टामै काम गर्ने सल्यानको कालिमाटी गाउँपालिका २ का लालबहादुर बिकले दिउँसो कोही नभएको मौका छोपेर आफ्नो कोठामा बोलाएर बलात्कार गरिरहेको घटना मेरी मितिनीले प्रत्यक्ष देखिन् । उनले हल्ला गरे पछि सबै जम्मा भयौं । ४२ वर्षीय विक पनि सबैको सहयोगले प्रहरीबाट पक्राउ परे ।

आफू को हो ? के गर्नु पर्छ ? के खानु पर्छ ? कसरी बोल्ने भन्ने समेत नजानेकी मेरी छोरीमाथि दैवले पनि न्याय गरेनन् । जसको कोही हुँदैन, उसको भगवान हुन्छ भन्थे । मेरो हकमा भगवान पनि भएनन् । मेरै अबोध छोरीमाथि एक हप्तामै दुई पटक बलात्कार भयो । कहाँ थिए होलान् भगवान पनि ? किन उसैलाई यस्तो हुनुपर्ने ?

बलात्कारीलाई समान सजाय

सुस्त मनस्थिती भएकी किशोरी बलात्कृत भएको मुद्दा महानगरीय प्रहरी वृत्तको सहयोगमा जिल्ला अदालत भक्तपुरमा दर्ता भयो । बिक र नेपालीलाई जिल्ला अदालतमा हाजिर गराइयो । जिल्ला अदालत भक्तपुरले २०७५ बैशाख २७ गते दुवै घटनाको एकै दिन फैसला सुनायो – दुवै जनालाई १०–१० वर्ष कैद र १०–१० हजार जरिवाना ।
घटनाको प्रकृति एउटै खालको भएका कारण सजाय समेत एउटै भएको भक्तपुर जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले बताए । उनका अनुसार फैसलाको पूर्ण पाठ आउन भने अझै केही समय लाग्नेछ ।

कहिले पाइन्छ क्षति पूर्ति ?

जिल्ला अदालतको फैसला नै अन्तिम फैसला नहुन सक्छ । जिल्ला अदालतको फैसला विरुद्ध प्रतिवादीले पुनरावेदन गर्न सक्ने अधिकार सुरक्षित छ । प्रतिवादीले जिल्ला अदालतले गरेको फैसला थाहा पाएको ७० दिन भित्र पुनरावेदन जान पाउँछ ।

पीडितले पीडकबाट भराइएको क्षतिपूर्ति अदालतको फैसला पछि तत्काल पाउने कानुनी प्रावधान छ । तर तत्काल भन्नाले कति दिन वा महिना भित्र पाउने भन्ने कुरा प्रष्ट उल्लेख छैन । यसो हुँदा पीडितले पीडकबाट भराइएको क्षति पूर्ति पाउन निकै मुस्किल हुने गरेको अधिवक्ता शशी बस्नेतको भनाइ छ ।

किशोरी थप असुरक्षित

दुई पटक, दुई व्यक्तिबाट बलात्कृत किशोरी अझैं असुरक्षित छन् । अग्नि इँटा भट्टामै आमाको संरक्षणमा बस्दै गरेकी उनी दिनभर एक्लै हुन्छिन् । छाप्रोमा न ढोका छ, न सुरक्षित बस्ने ठाउँ नै । इँटा भट्टामै काम गर्ने मजदुर बस्नका लागि लहरैसँग बनाइएका छाप्रोहरूमा अनेक थरीका मान्छे बस्छन् ।

किशोरीकी आमाले आफ्नो प्रत्यक्ष निगरानीमा राख्न नसक्ने भएकाले छोरी अझै असुरक्षित भएको बताइन् । छोरीले आफूमाथि भएको घटना बारे समेत बताउन नसक्ने हुँदा उनले भोग्ने सबै समस्या पत्ता नलाग्ने पनि उनले दुखेसो पोखिन् ।

कुनै संस्थाले छोरीको उद्धार गरिदिए आफूलाई निकै राहत हुने र छोरीले पनि न्याय पाउने उनले बताइन् । ‘म छोरीको गोठालो बस्न सम्भव छैन । काम नगरे पेट पाल्नै कठिन । कसैले सहयोग गरे छोरीले सुख पाउँथिन् ।’

–महिलाखबर डट.कम.बाट

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार ११:०२