२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

मधेसी युवाले बिबाहमा दौरा सुरुवाल लगाएकोमा आलोचना भएपछि दुलाहाले यसरी दिए जवाफ


७ जेठ, काठमाडौँ । एक जना मधेसी समूदायका युवा विनय कुमार महतोले आफ्नो बिबाहमा ढाका टोपी र दौरा सुरुवाल लगाएको विषयमा आलोचना भएपछि प्रेमपूर्वक जवाफ दिएका छन । सिरहा स्थायी घर भएका स्थापित टेलिभिजन समाचार वाचक हाल कान्तिपुर टेलिभिजनमा कार्यरत नेपाल पत्रकार महासंघ काठमाडौँका सदस्य समेत रहेका विनयले केही साता अघि पर्वतकी मञ्जु तिवारीसँग बिबाह गरेका थिए ।

बिबाहमा दुलही लिन जाँदा ढाका टोपी र दौरा सुरुवालमा ठाँटिएका महतो साँच्चै आकर्षक पनि देखिएका थिए । यद्यपी साम्रदायिकता भड्काउन चाहनेहरुको समूहले महतोको पहिरनका विषयमा आलोचना गरेपछि उनले आज फेसबुक मार्फत उनीहरुलाई प्रेम पूर्वक जवाफमात्र फर्काएका छैनन् प्रतिप्रश्न समेत गरेका छन ।

विनय कुमारले फेसबुकमा लेखेका छन, ‘प्रसंग हो, मैले बिबाहमा लागाएको दौरा, सुरूवाल र टोपीको । जसले गर्दा कतिपय नातामा पर्ने दाजु भाइ र इष्टमित्रलाइ दौरा, सुरूवाल र टोपीले घोचेको छ । स्मरण रहोस्, म हरेक संस्कार र संस्कृतिलाइ सम्मान गर्छु । चाहे त्यो संस्कृति हिमालको होस् वा तराइ–पहाडको । कतिपयले प्रश्न गरेका छन्, आफ्नै संस्कारमा बिहे गर्दा हुन्थ्यौ नी ? मेरो साधारण जवाफ के छ भने, नेपाली संस्कार पनि मेरै हो, मैथिली संस्कार पनि मेरै हो । यति कुरा बुझे पुग्छ ।
र मलाइ प्रश्न गर्ने ती महानुभावहरूलाइ मेरो प्रतिप्रश्न ,
–विहारी इन्डियनले लगाउने ’शेरवानी’ मधेस र मिथिलाको आफ्नो पोसाक कहिलेबाट भयो ?
–तपाइ आफ्नै विहेमा सुट पाइन्ट लगाइरहँदा धोती, कुर्ता र पैजामा किन याद आएन ?
–अन्तिममा, जिन्दगी भर उनी मेरो संस्कृति अंगाल्न तयार हुन्छिन भने, म एक दिन उन्को संस्कार किन अपनाउन सक्दिन ?’

प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार १५:३३