कोरोना सन्त्रास र सम्बोधनको प्रश्न
-प्रा डा. एम. एल. शर्मा
हरेक देशको समुन्नति र विकास त्यस देशले लागू गरेका योजना र तिनको कार्यान्वयनसँग सम्बन्धित हुन्छ । देश, जनता र सामाजिक वस्तुस्थितिका बारेमा गरिने गहिरो अध्ययन तथा अनुसन्धानले नै उक्त देशको दिगो विकासको रूपरेखालाई सम्बोधन गर्न सक्दछ । यतिबेला भने सारा विश्व नै कोरोना भाइरसको महामारीबाट आतङ्कित बनेको छ । नेपाल पनि यसबाट अछुतो रहन सक्ने थिएन र छैन । नेपालमा भइरहेको कोरोना संक्रमणको गति अन्य देशको दाँजोमा मन्द देखिए तापनि यसले पार्ने प्रभावलाई हामीले कुनै न कुनै रुपमा बेहोर्नु परिराखेको छ । कोरोना संक्रमणका कारण हाम्रा आगामी दिनहरु झन् चुनौैतीपूर्ण हुने कुरामा कुनै शंका छैन ।
कोरोना संक्रमण र त्यसको त्रासबाट आम जनतालाई आर्थिक, सामाजिक तथा मनोसामाजिक हिसाबले जोगाउँदै हाम्रो अर्थतन्त्रलाई कसरी बचाएर जान सकिन्छ भन्ने विषयमा यति बेला सारा राष्ट्रको ध्यान केन्द्रित हुन आवश्यक छ । त्यसो भए पनि विषयको गम्भीरतालाई बुझ्न नसकेर हो वा के हो, धन्नै धन्नै धमिल्याउन खोजिएको यस्तो जटिल समयको राजनीति धमिलिन पाएन । अब सबै मिलेर आजको गम्भीर परिस्थितिको आकलन गरेर राष्ट्र र जनतालाई बचाउन र भावी योजनाका बारेमा गहन विचार विमर्शका साथ अघि बढ्नुपर्ने देखिन्छ । हरेक समाजमा भयावह स्थिति वा भवितव्य प्रायः आकस्मिक रूपमा नै आइपर्छ । हाम्रो देशमा यस्ता परिस्थितिहरुको कल्पनासम्म पनि गर्ने गरिएको थिएन भनेर पार पाइनेवाला छैन । हुन त मान्छे जुन ठाउँमा बसेको छ र त्यही तहको वस्तुगत परिस्थिति भोगिरहेको हुन्छ, र विचारहरु पनि त्यसरी नै संश्लेषित हुँदै जान्छन् । यो वा त्यो कुनै पनि बहानामा हामी समस्याबाट भाग्न सक्दैनौँ, कुनै निहुँमा उम्किन सक्दैनौँ । त्यसैले हामीले फरक र व्यापक दृष्टिकोण अँगालेर अघि बढ्नु वाञ्छनीय छ ।
हाम्रो देशमा उत्पादन कार्य र उत्पादनकर्मीहरुले प्राथमिकता र सम्मान खासै प्राप्त गरेको पाइँदैन। अर्थात उत्पादन कार्यमा आफ्नो इमान र श्रम खर्चिनेहरुलाई प्रश्रय दिने गरेको संस्कार प्रायः छैन भन्दा अत्युक्ति नहोला । अहिलेसम्म पनि नेपालमा राजनीतिलाई अपवादले बाहेक सेवाभावयुक्त राज्य सञ्चालनको नीतिका रुपमा नलिएर कमाइ खाने पेसाका रुपमा अवलम्वन गरिएको देखिन्छ । हामीले सार्वजनिक खपतको लागि मात्र नबोली वास्तविक धरातलमा उभिएर जनताको पक्षमा नीति निर्माण गर्नु आवश्यक छ । अहिले विश्व महामारीको रुपमा देखिएको कोरोना त्रासबाट मुक्ति पाइ त्राण धान्ने खालको उपायहरुका अवलम्वन आवश्यक छ ।
अहिले नेपालमा लकडाउन अर्थात बन्दाबन्दी अवस्थाबाट गुज्रिएको छ । अब यसरी बन्दाबन्दीको चरण बढाउँदै जाँदा देशको अर्थतन्त्र पनि धराशायी हुनेतिर जाला भन्ने खतरा देखिन्छ । लामो र डल्लो पार्ने खालको बन्दाबन्दी कोरोना भन्दा पनि झन खतरनाक हुने हो कि भन्ने त्रास पैदा हुनु पनि स्वाभाविक छ । लामो समय बन्दाबन्दीको अवस्थामा रहँदा व्यक्तिको उत्पादकत्व माथिको क्षमतामा पनि ह्रास आउन सक्ने र यसले मनोसामाजिक विकारहरुको पनि बढोत्तरी गर्ला भन्ने आशंका गर्न सकिन्छ । हाललाई कृषि र निर्माणको क्षेत्रमा नियन्त्रित खुकुलोपनको नीति अपनाएर अगाडि बढ्नुपर्ने विषयमा विचार गर्न जरुरी छ । यस बेला एउटा पालिका वा वडाबाट अर्को पालिका वा वडामा विशेष अवस्थामा बाहेक जान नपर्ने गरी स्थानीय सरकारबाट व्यवस्था र नियमन गर्न आवश्यक देखिन्छ । हामीले सकेसम्म सामाजिक रुपमा गरिने कार्यलाई पूर्णत नियन्त्रित गर्दै भौतिक दुरी कायम गर्न आवश्यक देखिन्छ । कोरोना संक्रमणका विरुद्धको लडाइँमा आन्तरिक व्यवस्थालाई सुदृढ पार्नु आवश्यक छ ।
हाम्रो देशमा उद्योग धन्दा, कलकारखानाहरु छैनन् भन्दा हुन्छ । जे जति छन् ती पनि रुग्ण र बन्दप्रायः छन् । धेरै त यसभन्दा पहिले नै बेचेर सकिइसकेका छन् । ती उद्योगहरु भएका ठाउँहरुमा भूमाफिया र दलालहरुले खण्डीकरण गर्दै अव्यवस्थित रुपमा घडेरी बनाइरहेका छन् । यसले एकातिर कृषियोग्य भूमि बाँझो बनिरहेको र ऊर्जावान् यूवाहरु वैदेशिक रोजगारीमा न्यून श्रममूल्यमा काम गर्न जान बाध्य पारिएको देखिन्छ । हाम्रो राष्ट्रिय आम्दानीको करिब एक चौथाई भाग विप्रेषणबाट प्राप्त हुने अवस्था रहेकोमा त्यसमा विराम लाग्न जाने खतरा सन्निकट रहेको आभाष हुन थालेको छ । वैदेशिक रोजगारीमा गएका र स्वदेश फिर्ता हुन चाहने सबैलाई भिœयाउन आवश्यक छ ।
कोरोना संक्रमणको यो त्रासद अवस्थामा स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पुरा गरेर मात्र उनीहरुलाई आ–आफ्नो गन्तव्यसम्म पु¥याउनु नै समाज र सरकारका सामु चुनौतीको पहाड बनेर उभिएको देखिन्छ । विदेशबाट आएका र आउने अवस्थामा रहेका नागरिकहरु स्वदेशमै केही गर्नुपर्ने रहेछ भन्ने उत्प्रेरणाका साथ आउने हुँदा ती देशविकासको लागि चाहिने समर्पित मानवस्रोत हुने कुरामा शंका छैन । सरकारले उनीहरुलाई बाँझो जमिनमा कृषिकार्य गर्न र कृषि उत्पादनलाई बजार व्यवस्थापन गर्न सक्ने हो भने यो एक अवसर पनि हुन सक्ने छ । वर्तमानमा पनि स्वदेशमा उत्पादित फलफूल र तरकारीलाई बजारसम्म ल्याई पु¥याउने व्यवस्था गर्न अति आवश्यक छ । यस कार्यमा केही प्रगति भइरहेको भए तापनि यसलाई अविलम्व सम्बोधन गनुपर्ने मुख्य ध्येय बनाउन सकियो भने सिमा पारिबाट आउने कृषि उत्पादनमा थोरै भए पनि लगाम लगाउन सकिन्छ ।
जति जति कोरोनाका बिरामीहरू बढ्दै गइरहेका छन् त्यति त्यति मुलुकमा खतराको बादल मडारिएको छ । रोगको संक्रमण रोक्न परीक्षणको दायरा बढाउँदै भौगोलिक सीमा तोकेर बन्दाबन्दीलाई प्रभावकारी बनाउनुपर्ने कुरामा विचार गर्नु आवश्यक छ । जीविकाको आधारका रूपमा रहेको हाम्रो कृषिकर्मलाई सुदृढ पार्दै राज्यले कृषि प्रणालीलाई उत्प्रेरित गर्ने खालको वातावरण सिर्जना गर्न विशेष ढङ्गले नीति बनाउनु आवश्यक छ ।
कोरोना कहरले गर्दा सबै खालका राजनीतिक, सामाजिक, सांस्कृतिक र खास गरी धार्मिक विचार र वादहरुलाई राम्ररी नै हल्लाउने कुरामा शंका छैन । कोरोनाबाट आतङ्कित बनेको यो सम्पूर्ण विश्व कसरी उठ्ने हो, देशहरुका आपसी समझदारीहरु कसरी अगाडि बढ्ने हुन्, यसतर्फ विचार मात्र गर्दा पनि खैलाबैला उत्पन्न हुने स्थिति देखिन्छ । तर यति हुँदाहुदै पनि हाम्रो जस्तो देशले यस्तो विषम परिस्थितिबाट आपूmलाई जोगाउन विशेष ध्यान दिनु नै पर्दछ । यो सरकारले वा कुनै दल विशेषले मात्र गर्न सक्ने विषय नभएको हुँदा सबैको ध्यान यस तर्फ जानु आवश्यक छ । सरकारको मुख ताकेर मात्र हुँदैन, देशको अर्थतन्त्रलाई धराशायी बन्नबाट जोगाउन आआफ्नो स्थानबाट सबैले पहल गर्नैपर्छ ।
हामीलाई थाहा छ, यो भयावह परिस्थितिको सामना गर्न चीन, सिंगापुर, दक्षिण कोरियाजस्ता तुलनात्मक रुपमा अनुदार मानिएका दक्षिण पूर्वी केही एसियाली मुलुकहरु र छिमेकी देश भुटान सफल देखिएका छन् । यस संकटको समयमा राजनीतिक दलका नेतृत्वमा रहेका व्यक्तिहरुमध्ये कसले कसरी योगदान पु¥याए भन्ने कुरा आम कार्यकर्ता र जनताले मूल्याङ्खन गरि राखेका हुन्छन्, यो सबैलाई चेतना हुनु आवश्यक छ । आर्थिक र खाद्यान्न संकट हामी सबैले मिलेर पार गर्न सिकौँ । आफ्नै व्यवस्थापकीय तथा व्यक्तिगत कमजोरीका कारण हामीले सङ्कटका अघिल्तिर घुँडा टेक्नुपर्ने दिन नआओस् भन्ने कुरामा सदैव सावधान रहनैपर्छ ।
अहिलेको अवस्था विषमताले भरिएको छ तैपनि सधैभरि र लामो समयसम्म यसरी नै त काम चल्न सक्दैन । हाम्रा सरकारी कार्यालय र तिनका कर्मचारीहरुका साथै विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक तथा कर्मचारी र उद्योगी व्यवसायी सबैलाई बन्दाबन्दीको नियन्त्रणभित्र केही खुकुलो हुने गरी सञ्चालनको क्रियाविधि (मेकानिज्म) बनाउनु आवश्यक छ । विश्वविद्यालयमा पनि कतिपय आवश्यक कार्यहरु लामो समय सम्म ठप्प पारेर राख्न सकिँदैन ।
विद्यार्थीहरुलाई प्रविधि प्रयोग गरेर दूरशिक्षाबाट भए पनि पढाइमा मार्गदर्शन गर्ने कामको प्रयास भएकै छ तर त्यसलाई सफल बनाउनका लागि भने अझै निकै मिहिनेत गर्नुपर्ने छ । राज्य र यसका निकायहरु चलायमान हुनु र नियन्त्रणका सबै उपायहरु अवलम्वन गर्दै खास खास भौगोलिक सीमा कायम गरेर विस्तारै बन्दाबन्दी खोल्दै जानाले हाम्रो अहिलेको आवश्यकतालाई सङ्कटको बेलामा केही मात्र भए पनि सम्बोधन गर्न सकिन्छ कि !
(प्रा डा.शर्मा त्रि.वि.प्राध्यापक संघ, विश्वविद्यालय क्याम्पसका सभापति तथा रसायनशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ ।)
प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार १५:३९