४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

विश्वभरका कम्युनिष्ट युवा काठमाडौँमा

६ जेठ, काठमाडाैँ । विश्वका कम्युनिष्टहरुलाई एकतावद्ध गर्ने उद्देश्यका साथ ४० देशका कम्युनिष्ट अगुवा काठमाडौँ आईपुगेका छन् । विश्व प्रजातान्त्रिक युवा संघमा आवद्ध ४० देशका कम्युनिष्ट अगुवाहरु नेपालको कम्युनिष्टहरुको संघर्ष, आन्दोलन, एकता र जनसम्बन्धका विषयमा जानकारी साथै WFDY को बैठकका लागि नेपाल अाएका हुन। विश्व प्रजातान्त्रिक युवा संघमा अनेरास्ववियु, युवासंघ र स्ववियु काउन्सिल सदस्य रहेका छन् ।

अागामी जेठ ९ गते आयोजना हुने युवा सम्मेलनको व्यवस्थापन अनेरास्ववियुले गरिरहेको छ । राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा लागि भोलि (सोमबार) पत्रकार सम्मेलन आयोजनाको तयारी भइरहेको अनेरास्ववियु अध्यक्ष नबिना लामाले जानकारी दिइन् । कार्यक्रमको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त रुपमा गर्नेछन । कार्यक्रममा विभिन्न साँस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिने तय भएकाे छ ।

बेलायत, रसिया, कोरिया, श्रीलङ्का, भियतनाम,जापान,पेरु,अल्जेरिया,इक्वेडर,दक्षिण अफ्रिकालगायत विश्व प्रजातान्त्रिक युवा संघमा आवद्ध ४० देशका कम्युनिष्ट अगुवाहरुको नेतृत्व संघका अध्यक्ष निकोलसले गरिरहेका छन् । संघले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको विषयमा समेत विभिन्न जानकारी लिने युवा संघका अध्यक्ष रमेश पाैडेलले बताए ।

संघले विश्वको कम्युनिष्ट राजनीतिक इतिहासहरुको समेत अध्ययन अनुसन्धानको काम गर्दै आइरहेको र नेपालको कम्युनिष्ट इतिहास, नेपालको शसस्त्र जनयुद्ध र अहिलेको वाम एकताका बारेमा धेरै जिज्ञासा राख्न खोजिरहेका छन्। तत्कालीन एमाले र माओवादी केन्द्रको एकताबाट उनीहरु चकित समेत परेका छन्। ‘यो एकता कसरी सम्भव भयो भन्ने कुरा पनि उहाँहरुको जिज्ञासाको विषय बनिरहेको अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माले जानकारी दिए । प्रजातान्त्रिक युवा सगंठनको यति ठुलो बैठक नेपालमा पहिलोपटक हुन लागिरहेको हो।यस बैठकले नेपालको पर्यटन प्रबर्द्धनमा पनि मद्वत पुग्ने विश्वास गरिएको छ ।

  

प्रकाशित मिति : ६ जेष्ठ २०७५, आईतवार १३:५०