१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

महामारीको इतिहासमा सुरक्षित रहन निर्विकल्प लकडाउन, क्वारेन्टाइन र आइसोलेसन

-प्रा. डा. एकारत्न आचार्य

परिचय: आज भन्दा करिब ५००० वर्ष पहिला देखिनै विस्वमा रोगको महामारी फैलिएको पाइन्छ । यस किसिमका महामारीबाट बच्न बिविन्न समुदायले अलग्गै र पथपरेजमा बस्ने गरेका प्रमाणहरु पाइन्छन् । रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु राम्रो हो । त्यसको लागि रोगिव्यक्ति वा रोगसँग नजिक रहनु भन्दा अलग्गै बसेर रोगबाट बच्नु श्रेयकर हुन्छ । यदि रोग लागी हालेमा औषधि पनि चाहिन्छ तर अहिले कोरोनाको महामारीको औषधि पनि बनेको छैन त्यसैले पनि लकडाउन, क्वारेन्टाइन र आइसोलेसन उपयुक्त बिधि हो यसबाट जोगिने ।

क्वारेन्टाइन  शब्द ‘क्वारंटा’ बाट आएको हो,  जसको अर्थ हो संक्रामक रोगको चपेटामा परेका व्यक्ति, पशु, चौपाया र सामानहरू छुट्याउने एक बाध्यकारी वा अनिवार्य माध्यम । त्यस्तै लकडाउन पनि एक बाध्यकारी स्थिति हो, जसमा मानिसहरूलाई घर वा भवनमा वा क्षेत्र छोड्नका लागि अनुमति हुँदैन र यो एक किसिमको आपतकालिन समय हो । अहिले कोरोनाको महामारीका कारण विस्वका धेरै देशले लकडाउन, क्वारेन्टाइन र आइसोलेसनजस्ता बिधि अपनाएका छन् ।

ऐतिहासिक जानकारी: सन् १३४७-१३५२ को प्लेग्को महामारीमा पनि यो रोग लागेको व्यक्ति वा बस्तु बाट टाढा रहने काम गरिएको थियो । त्यसै गरी कुष्ठ रोगि लाई पनि अलग्गै राखिने परम्परा थियो र त्यस्ता केन्द्रहरु पनि खोलिएका थिए । नेपालमा पनि यस किसिमका क्षेत्रहरु छुट्याइएको पाइन्छ । पहिलो पटक सन् १३७७ मा क्रोसियाको दालतीयन कोस्ट को दुब्रोवनिकमा क्वारेन्टाइनको प्रथम सुरुआत भएको थियो भने पहिलो स्थायी प्लेग अस्पताल (लाजरेटो) भेनिस रिपब्लिकले सन् १४२३ मा सान्ता मारिया डि नासेरथको सानो टापुमा खोलेको थियो ।

१४६७ मा जेनेभाले भेनिस प्रणाली अपनाए भने १४७६ मा फ्रान्सको मार्सिलेमा कुष्ठ रोग लाग्नेहरूको लागि अस्पताल लजारेटोमा परिणत भयो। लाजारेटोस बसोबास केन्द्रहरूदेखि टाढा टाढा बस्थे रोगको प्रसार प्रतिबन्ध गर्न तर बिरामीलाई सार्न वा लैजान र बिरामीका लागि आबस्यक खाध सामग्री र औषधिलगायतका सामग्री लैजानका लागि यातायातको राम्रो सुबिधा थियो । त्यस्ता केन्द्रहरु सकेसम्म समुद्र, नदिले प्राकृतिक रुपमा छुट्याएका ठाउँमा राखिन्थ्यो र त्यस्तो ठाउँ नभएको अवस्थामा अरु तरिकाले घेराबन्दी गरेर अलग्गै बसाल्ने व्यवस्था मिलाउने गरिन्थ्यो।

बन्दरगाहमा, लाजार्टोसमा जहाज यात्रु र चालक दलहरूलाई अलग पार्न प्रयोग गरिने भवनहरू थिए जसलाई प्लेग भएको वा शंका गरिएको थियो। जहाजहरूबाट सामानहरू तोकिएको भवनहरूमा लोड गरिन्थ्यो। विभिन्न उत्पादनहरूको “शुद्धीकरण” को लागि प्रक्रियाहरू निर्धारित गरिएको थियो; ऊन, धागा, कपडा, छाला र कम्बल रोग सार्ने सम्भावित उत्पादनहरू मानिन्थ्यो। सामानहरूको उपचारमा निरन्तर वेंटिलेसन समावेश थियो; मोम र स्पन्ज ४८ घण्टाको लागि चलिरहेको पानीमा डुबाइन्थ्यो र निर्मलीकरण गरिन्थ्यो ।

अठारौं शताब्दीमा फ्रान्स, स्पेन र इटालीको भूमध्य बन्दरगाहमा पहेंलो ज्वरो देखा पर्दा सरकारहरूले क्वारेन्टाइनको प्रयोगसम्बन्धी नियमहरू लागू गर्न बाध्य पारेका थिए। त्यस्तै उन्नीसौं शताब्दीमा अर्को, अझ डरलाग्दो कोर्रा, कोलेरा (हैजा) नजिकै आउँदै थियो । यातायातमा टेक्नोलोजिकल परिवर्तनले बढ्ने भूमण्डलीकरणको अवधि, स्टीमशिप र रेलमार्गको यात्रा आराम गर्ने समयमा ठूलो गिरावट, र ब्यापार वृद्धिका साथै सरसफाई / पथ्परेजको कमिको कारण हैजा देखा पर्‍यो भन्ने गरिन्छ । यसबाट बच्न पनि क्वारेन्टाइन बिधि नै अपनाइएको थियो ।

बिरामीका कपडा लागयतका सामग्रीको सरसफाई छुट्टै गर्ने व्यवस्था मिलाइएको थियो । जस्तै: १८६५-१८६६ मा फ्रान्स-इटाली सीमामा फैलिएको हैजाको महामारीको बेलाको कपडामा कीटाणुशोधनको झलक सँगै  दिइएको छ। सोहि ठाउँमा सोहि समयमा महिला र बालबच्चाको लागि छुट्याइएको क्वारेन्टाइनको एक झलक पनि यसैसाथ देखाइएको छ । त्यसै गरी त्यस क्षेत्रमा आवतजावत बन्द गर्न सुरक्षाकर्मीहरु खटाइएको तस्बिर पनि सँगै छ (युजेनिया टोग्नोटी, २०१३ ( ।

निस्कर्ष:  मौसमी फ्लु होस् वा विविध समयमा भएका महामारीमा ढिलो-चाँडो समय मिलाएर लकडाउन र क्वारेन्टाइन अनि आइसोलेसन नै उपयुक्त बिधिको रुपमा प्रयोग गरेको देखिन्छ । अहिले पनि कोरोनाको महामारीबाट बच्न लकडाउन, क्वारेन्टाइन र आइसोलेसननै उपयुक्त बिधिको रुपमा धेरैजसो देशले अवलम्बन गरेका छन् र त्यसमा होसियारी अपनाउने देशले कोरोनाको कहरमा धेरै सफलता पाएक छन् फलास्वोरूप कम क्षति भएको पाइएको छ ।अत: घरमै बसौ, अर्काको घर, सभा र सम्मेलनमा लाहपर्बाही तरिकाले नजाऔ। सामाजिक दुरी कायम गरी आफ्नो नियमित काम गरौ ।

(प्रा.डा. आचार्य त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र केन्द्रीय विभागमा कार्यरत हुनुहुन्छ ।)

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार १३:००