शिक्षामा प्रविधि प्रयोग
-चन्दु शर्मा दाहाल
विश्व अहिले महामारीबाट जुधिरहेको छ। इतिहासलाई हेर्दा प्रत्येक सय वर्षमा यस्ता महामारीहरु आएको देखिन्छ। ति प्रत्येक समस्या पछि विश्व अझ बलियो, अझ उन्नत, अझ सशक्त र सामर्थ्यवान भएर उभिएको देखिन्छ। अहिलेको महामारी पश्चात्को विश्व धेरै उन्नत हुने सम्भावना छ। बिश्वको कुरा गर्दा जसरी पश्चिमाहरुले लामो समय आफुलाइ केन्द्र भागमा राख्न सफल भए । अबको समय आर्थिक, सामाजिक ,शैक्षिक, सांस्कृतिक र राजनैतिक हिसाबले एसियाले आफुलाइ केन्द्रमा राख्ने सम्भावना म देख्दछु ।
एउटा समय थियो जहाँ पूर्वीय दर्शन र पूर्वीय सभ्यताबाट पश्चिमाहरु लोभिन्थे। त्यही पूर्वीय दर्शन अबलम्बन गरेर पश्चिमाहरुले आफुलाइ शक्ति र सामर्थ्यको केन्द्र बनाए। तर हामीले आफ्नै सभ्यता र संस्कृतिलाई बिर्सियौ। चाणक्यको युग जहाँ पाटलिपुत्रकाे तक्षशिला शिक्षाको केन्द्र थियो । त्यसैगरी अहिले अक्स्फोड र हारवड विश्वविद्यालय लाई रोजिने शैक्षिक संस्थामा लिइन्छ ।
अबको समय फेरि एसियामा तेस्ता धेरै तक्षशिलाहरु खुल्नेछ्न। त्यस्को सभ्यताले फेरि एकपटक पुर्वलाई शक्ति र सामर्थ्यको केन्द्र्मा उभ्याउने छ। त्यसैले मलाई लाग्छ अबको युग विश्वमा शक्ति र सामर्थ्यको केन्द्र सिङ्गो एसियामा रहेको हुनेछ । त्यस मध्य चिन र भारत जस्ता ठुला र विकासको गतिमा अघि बढेका राष्ट्रहरु दक्षिण एसियामा हुनुले दक्षिण एसियालाई अवस्य प्रचुर लाभ पुग्ने छ । यि दुई रास्ट्रका बीचमा रहेको हाम्रो देश नेपालले सुझबुझ पूर्ण आर्थिक, राजनीतिक र सामाजिक कुटलताको प्रयोगबाट समुन्नत नेपाल बनाउन सक्ने बाटो अब सहज बन्छ। बर्तमान समयमा लेख मार्फत अध्यापकको हैसियतले अध्ययन अध्यापनलाई यो समयमा कसरी सुचारु गराउन पर्ला भनी मसिनो विश्लेषण गर्न चाहन्छु।
संसारभरी ईन्टरनेटको माध्यमबाट हरतह र तप्काको समस्यालाई सरोकारवालाहरुले घरै बसि बसि अन्तर सम्वाद गरि समस्या समाधानका उपायहरू सुल्झाएका छ्न। संसारभरिका बहुसंख्यक ब्यक्तीहरुले ईन्टरनेट कै माध्यमबाट दैनिक उपभोग्य बस्तुहरु खरिद गर्ने देखि लिएर अरु धेरै कुरामा जीवन सहज बनाइ रहेका छ्न। विश्व अहिले महामारीसङ्ग जुधिराख्दा ईन्टरनेटको पहुँच र प्रयोगले जनजीवन, राजकाज, सामाजिक अर्थव्यवथा सम्मलाइ सहज र केहि हद सम्म चलायमान बनाइ राखेको छ। यसबाट ईन्टरनेटको महत्त्व र त्यो ईन्टरनेट जडित भएर हामीले बोकेको मोबाइल कम्प्युटर मार्फत कसरी सहजतापुर्वक काम गर्न सकिन्छ भन्ने सकारात्मक पाठ सिक्दै त्यसलाई अबलम्बन गर्न पाइएको छ ।
नेपालमा बिशेष गरि शहर केन्द्रित बिद्यालयहरुले आफ्ना बिध्यार्थीहरुलाइ अन्लाईन कक्षा मार्फत पठनपाठन सुरु गरेका छ्न। केहीले गर्नकै तयारीमा छन्। यो सकारात्मक कदम हो तर पनि समाजमा प्रश्न उठेका छन् । समाज आफैमा यस्तो ठाँउ हो जहाँ अण्डा पहिला कि चल्ला पहिला भनेर प्रश्न उठाउनेहरु छ्दैछ्न र रहिरहने छन् । त्यसैले प्रश्नकर्ताहरु रहिरहने यो समाजले फेरि एकपटक ईन्टरनेटका विषयमा र यसको पहुँचका विषयमा प्रति प्रश्न गरेका छन्। प्रश्न गर्न खोज्नु, बुझ्न खोज्नु स्वभाविक हो तर नबुझे झै गरि पुनः प्रश्न दोहोर्याउनु अस्वाभाविक हो।
पहिलो प्रश्न के सबै विद्यार्थीहरु यो अन्लाईन क्लासको पहुँचमा छन् त ? समाजमा किताब किन्न नसक्ने बर्ग छ। ती बर्गलाइ शिक्षा प्रदान गर्ने यो प्रक्रियाबाट सम्भव छ ? शहरमा रहेका र हुनेखाने बर्गलेमात्र यो प्रविधि प्रयोग गर्न सक्लान् तर गाउँगाउँमा किताबकै पहुँच नहुने वर्गमा यो सम्भव छ ? यस्ता प्रश्नहरु सामाजिक संजाल मार्फत उठेको देखिन्छ। म यस् विषयमा जवाफ दिने कुनै आधिकारिक निकायको ब्यक्ती त होइन तथापी एउटा शिक्षाशास्त्रको विद्यार्थीको तथा अध्यनअध्यापनमै सम्लग्न रहिआएको हैसियतले यस समस्यालाई सम्बोधन गर्ने सकारात्मक बाटो देख्द्छु। त्यसैले यो विचार प्रवाह गर्दा म आफ्ना यी बिचारहरुलाइ प्रस्तुत गर्दछु।
नेपाल संघीय ढाँचामा गएपछि देशमा तिन तहको सरकार छ। गर्नु पर्ने धेरै कार्यहरु छन् । विश्लेषण गर्नुपर्ने, लेख्नु पर्ने धेरै विषयहरु छन् । यहाँ मूल रूपमा यो online class संचालन सबै तह र तप्काको विद्यार्थीहरुलाइ समेटेर गर्न सकिन्छ भन्ने दृस्ठिकोणको कार्ययोजना बनाउनु पर्द्छ। ईन्टरनेटको शुल्क भुक्तानी गर्न सक्ने नसक्ने बर्गहरु स्थानीय तहको सहभागितामा छुट्टयाएर शुल्क तिर्न नसक्नेहरुका हकमा राज्यले निशुल्क नेटको सुबिधा दिनु पर्द्छ। विश्वका बिकसित अधिकांस मुलुकहरूले फ्री वाइफाइको अभियान चलाएकाछ्न।
केहि हदसम्म हाम्रा केहि स्थानीय निकायहरूले पनि यो अभियानतर्फ जाने घोषणा गरेको सबैलाई स्मरणै छ। त्यो घोषणा वास्तवमा मैले माथि उठाएकै बिचारको पर्याय हो। जनस्तरमा नेटको सहज पहुँच यही प्रक्रियाबाट पुर्याउने हो । अब यस सङ्गसङ्गै प्रत्येक अभिभावकको हातमा एउटा सुविधाजनक मोबाइल तथा कम्प्युटर पुर्याउने अभियान राज्यले सुरु गर्नु पर्छ। जसरी प्रत्येक विद्यार्थीको पहुँचमा किताब पुर्याइन्छ त्यसैगरी किताबको अर्को स्वरुप सुविधाजनक फोन अर्थात smart phone हो।
मलाई सम्झना छ केहि दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ग्राम पन्चायतका प्रमुखहरूलाई यहि अन्लाईन मार्फत भिडियो सम्बोधन गर्दा भारतले पछिल्लो समय smart phone उत्पादनमा तीब्रता दिइदा त्यहाँका तल्लो जनस्तर सम्म मोबाइलको पहुँच पुगेका कारण यो महामारीको सन्देश र यसबाट बच्ने उपायका सुत्र सन्देशहरु जनस्तर सम्म पुग्न सहज, छिटो र सुरक्षित भएको कुरा गर्वका साथ व्यक्त गर्दै थिए। यो सकारात्मक पक्षको हामीले पनि अनुसरण गर्नु पर्द्छ। नेटकाे पहुँचकाबारे मैले माथि उल्लेख गरे।
अब नेपालमा त्यस्तो smart phone को उत्पादन गर्न सकिन्छ भने त्यस तर्फ ध्यान दिने सरकारको दायित्व भित्र पर्द्छ। अथवा कसरी सरल र सस्तो ढंगमा smart phone जनस्तरमा पुर्याउन सकिन्छ। यसका बारे बिज्ञहरुसगं परामर्श गरि एउटा निति सरकारले तय गर्न जरुरी छ। यि दुइवटा कार्यहरू मात्र पनि गर्न सक्यौं भने ईन्टरनेट र मोबाइलमा जनताको सहज पहुँच सुनिस्चित भएर अन्लाईन मार्फत शिक्षा, स्वास्थ्य, चेतना, राष्ट्रप्रतिको चेतना र राज्यले आबश्यक ठानेको राष्ट्र हितका पक्षका विचार जनस्तरसम्म सम्प्रेषण गर्न सहज हुन्छ र यसले सिङ्गो नेपालीलाई एक ठाँउमा उभ्याउने एउटा सुत्राधार बन्न सक्छ।
अब फेरि समाजमा प्राविधिको दुरुपयोग पनि हुन सक्छ भनी प्रश्न उठ्न सक्छ। ती प्रश्नहरुका पनि हामीसँग सहज उत्तर छन् भन्ने मेरो दृष्टिकोण छ । प्रविधिको प्रयोगलाईलाई प्रोत्साहित गर्न र दुरुपयोगलाई निरुत्साहित गर्न साइबर कानुनलाई अझ व्यवस्थित र अझ ससक्त बनाएर लैजानु पर्दछ। प्रविधिको दुरुपयोग मात्र हुन्छ भन्ने हुदैन अर्थात दुरुपयोग होलाकी भनेर डराउनु भन्दा बरु यसको प्रयोगलाई सु-व्यव्स्थित गर्न प्रोत्साहित गर्ने, अनुशासित बनाउने हो।
दुरुपयोगलाई हतोत्साहित गर्ने, सङ्कुचित गर्ने, कानुनको दायरामा बाँध्ने हो। त्यसैले आजको समयमा ईन्टरनेटको प्रयोगको पहुँचलाई सहज बनाउदै प्रविधिको प्रयोग मार्फत हरेक तह र तप्काको शैक्षिक संस्थाबाट विध्यार्थीका पक्षमा शिक्षा प्रदान गर्दै बदलिँदो विश्व जगतमा बदलिँदो र यथार्थपरक शिक्षा प्रविधि मार्फत पुर्याउनु जरुरी छ र यो अबको आवश्यकता पनि हो। जय शिक्षा ! जय प्रविधि !
(शर्मा एडमार्क कलेजमा प्राध्यापन गर्नुहुन्छ ।)
प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलवार ०९:३३