१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

कोरोना संक्रमण र नागरिकको दायित्व

–तिलोत्तम पौडेल

आज विश्व कोरोना संक्रमणबाट पीडित र प्रभावित छ । आफूलाई विश्वका शक्तिसम्पन्न राष्ट्र भन्नेहरू समेत कोरोनालाई परास्त गर्न गा¥हो भईरहेको स्थिति छ । धनी, गरिब, सानो, ठूलो, अग्लो, होचो, जात, भाषा, धर्म, लिङ्ग केही नभनीकन गत डिसेम्बर २०१९ बाट सुरु भएको कोरोनाले मानवीय रुपले मात्र हैन आर्थिक, सामाजिक रूपमा ठूलो क्षति पु¥याएको छ । विश्व अर्थतन्त्रलाई नै तहसनहस बनाउन खोजेको छ ।

विश्वका १९० भन्दा बढि देशमा फैलिएको यो रोगका कारण हालसम्म १७ लाख ९२ हजार ७ सय ७९ जना संक्रमित भएका छन् भने जसमध्ये ४ लाख ११ हजार ५ सय ९० जना उपचार पश्चात सन्चो भएको तथ्याङ्क रहेको छ भने हालसम्म १ लाख ९ हजार ७ सय ८६ जना मानिसको जीवन गईसकेको छ । जम्मा तथ्याङ्कको २१ प्रतिशतको मात्र ज्यान गएको छ भने ७९ प्रतिशतलाई निको भएको अवस्था पनि छ । हाम्रो देश पनि यो संक्रमणबाट अछुतो रहन सकेको छैन । ५ हजार १ सय ८४ जनाको स्वास्थ्य परीक्षण गर्दा जम्मा १२ जनामा मात्र यस रोगको संक्रमण भएको तथ्याङ्क सार्वजनिक भएको छ । हालसम्म नेपालमा ८५ जना विरामी आईसोलेसन र ९ हजार जना क्वारेन्टाइनमा रहेका छन् । नेपाल लकडाउनको स्थिति विद्यमान छ ।

हाम्रो देशका संघीय, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो ठाउँबाट यो रोगलाई परास्त गर्न योगदान पु¥याई रहेका छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीको योगदान पनि उत्तिकै छ । राज्यले गरेका कोरोना विरुद्धको अभियानमा मात्र हैन मानवीय जीवनमा भौतिक विकासँगसँगै मानवीय विकासका लागि समुदायको क्षमता अभिबृद्धि जनचेतना तथा विपतका पूर्वतयारीको सन्दर्भमा नागरिक संघसंगठन, विकासका साझेदार संघ–संस्था, राजनीतिक पार्टी र तिनको भातृसंगठनले समेत योगदान पु¥याईरहेका छन् । सबैले आ–आफ्नो तह र तप्काबाट कोरोनालाई परास्त गर्न सामाजिक सञ्जाल, सञ्चार माध्यम, भेटघाटको तथा विभिन्न माध्यमबाट सहयोग पु¥याईरहेका छन् ।

हाम्रो देशको संविधान, ऐन, कानुनहरूले जनताको स्वास्थ्यको अधिकारलाई शुनिश्चित गरेको छ । दिगो विकास लक्ष्यका १७ वटा बुँदा मध्ये सबै उमेर समूहका व्यक्तिका लागि स्वास्थ्य जीवन शुनिश्चित गर्दै समृद्ध जीवन स्तर प्रबद्र्धन गर्ने विषय सन् २०३० मा पुरा गर्ने लक्ष्य राखेको छ । उक्त लक्ष्यलाई पूरा गर्न राष्ट्रिय योजना आयोगले तयार परेको १५ औँ आधार योजनामा पनि स्वास्थ्यको विषयलाई विशेष महŒवका दिएको छ । यस्ता विषयमा विकासका साझेदार संस्था नागरिक संघ–संगठनहरूले पनि स्वास्थ्य सचेतनाको थुप्रै अभियानहरू राज्यसँग मिलेर चलाईरहेको अवस्था छ । कोरोनाको समयमा राज्यसँग समन्वयमा स्थानीय तह र प्रदेशमा सहयोग समन्वय र सूचना आदनप्रदान भईरहेको छ ।

नागरिक संघसंगठन र विकासका साझेदार संघ–संस्थाको पनि नेपाल सरकारको मापदण्ड बमोजिम नीति नियम, कार्यविधि हुन्छन् । त्यसको आधारमा विकासको साझेदार संस्था, समाजकल्याण परिषदबाट स्थानीय तहको समेत सिफारिसमा अनुमति लिएर सहकार्यमा कार्य गर्ने हो । सबैले समाज कल्याण परिषदले उपलब्ध गराएको फरमेट अनुसार नै कार्य गर्नुपर्दछ र गरिरहेका छन् । सामाजिक संघसंस्थासँगसँगै राष्ट्रिय युवापरिषद्मा आबद्ध युवा संस्थाहरू, खेलाडीहरू, स्काउट, उद्योग व्यवसायी, कलाकारहरूले आफ्नो ठाउँबाट योगदान पु¥याई रहेका छन् । कतिपय स्थानमा युवाहरले स्वयम्सेवी भूमिकाहरू निर्वाह गरिरहेका छन् । कहिकतै कमि कमजोरी छन् भने त्यसलाई छानविन गर्ने निकाय छदैछन् । यस्ता संस्था आफ्ना कार्यक्रमहरू, परिवर्तन गर्नै पर्ने अवस्थामा सम्बन्धी विकासका साझेदार संस्थाहरूसँग समेत अनुमति लिनुपर्ने हुन्छ ।

शक्ति सम्पन्न देशलाई समेत चुनौतीको रूपमा देखिएको कोरोना विरुद्धको लडाई कुनै व्यक्ति, संस्था, पार्टी बीचको लडाई नभई मानवको बाच्न पाउने अधिकार शुनिश्चित गर्ने लडाई हो । यो लडाईमा हाम्रा अरु सबै स्वार्थलाई त्यागेर लाग्न जरुरी छ । चिनको बुहानबाट सुरु भएको संक्रमणले आज इटली, स्पेन, जर्मनी, फ्रान्स, अमेरिका जस्ता मूलुकहरूले व्यवस्थापन गर्न कठिन भईरहेको अवस्थामा हाम्रो जस्तो मुलुक जसले केही वर्ष अगाडि मात्र भूकम्प, १० वर्षे जनयुद्ध र २० वर्षको अस्थिर राजनीतिक अवस्थाबाट गुज्रेर आएको छ ।

हाम्रो जस्तो भर्खरै संघीयताको सुरुवात भएको ७ वटा प्रदेश, ७५३ स्थानीय तह रहेको मूलुकमा देश अप्ठेरो अवस्थामा परेका बेला मानवीय कार्यमा सरकारसँगसँगै नागरिक संघसंस्थाहरू लागि परिरहेको कुरा विद्यमान छ । नयाँ संरचना र नयाँ ऐन कानुन विधिहरू बनाउँदै जाने संक्रमणकालीन अवस्थामा कोरना जस्तो महामारी मात्र हैन अब आगामि दिनमा सम्भावित कुनै पनि प्रकारको विपतबाट मूलुकलाई जोगाउन पूर्व तयारी राम्रो हुनुपर्दो रहेछ भन्ने सिकाई पनि हो । यसलाई भौतिक विकाससँग सँगै मानवीय विकासका सानासाना कुरामा पनि पूर्व तयारी, लगानी र ध्यान दिनु पर्दो रहेछ भन्ने कुरा राज्य र नागरिकहरूलाई सचेत बनाएको छ ।

भारतसँगको खुला सिमाना जहाँ करिव ४०–५० लाख नेपालीहरू पेशा व्यवसाय र रोजगारको लागि भारतमा रहेका छन् भने रोजगारी, पेशा र अध्ययनको सिलसिलामा करिब ४० लाखको हाराहारीमा अन्य मुलुकमा गएका छन् । जुन–जुन नेपाली जहाँ भए पनि करिब सबै देशमा यसको संक्रमण देखिएको छ । उनीहरू जहाँछन् त्यही सुरक्षितपूर्वक बस्न व्यवस्थाको लागि नेपाल सरकारले राजदुतावास मार्फत पहल गरेको देखिन्छ । प्रत्येक देशका राष्ट्र प्रमुखसँग समेत कुराकानी भएको समाचारहरू बाहिर आईरहदा राज्यले पहल गरेको त देखिन्छ । तथापी उनका आफ्नै नागरिक उनीहरू प्राथमिकतामा पर्दछन् । तसर्थ हाम्रो तर्फबाट हाम्रा विदेशमा रहेका आप्रवासी नागरिकको सबै प्रकारको सुरक्षाको लागि निरन्तर पहलकदमी गरी राख्न जरुरी छ । सरकारको तहबाट प्रयास भईरहे पनि हाम्रा सञ्चार माध्यमहरूबाट विदेशमा नेपालीले भोग्नु परेको कठिनाईको दृश्यहरू हेर्न हामी बाध्य छौँ ।

यता खुला सिमानाबाट नेपाल प्रवेश गर्नेलाई रोक्दा हाम्रो आफ्नो देश किन फर्कन नपाउने भन्ने कुरा आउने स्वभाविक हो । तर आउदा क्वारेन्टाइन बस्ने निश्चित दुरीलाई ख्याल गर्ने, कुरा समेत ध्यान दिन जरुरी छ । रोग, प्रकोप कसैलाई जानाकारी दिएर नआउने भएकोले हाम्रो सीमापार गरी देशमा फर्कन खोजीरहँददा आफू सहित आफ्ना परिवार र समुदायलाई सुरक्षित हुन सरकारको मापदण्ड सूचनाहरूलाई गम्भीर रुपमा लिने सन्दर्भमा सम्बन्धित सबैले ध्यान दिन जरुरी छ । सकिन्छ भने जहाँ छौँ त्यही आफू सुरक्षित पूर्वक बस्नु नै बुद्धिमता हुन्छ । सरकारले विभिन्न ठाउँहरूमा क्वारेन्टाइनहरू बनाएको छ । सिमित स्रोत साधन लकडाउनको बीचमा सबै मापदण्ड पु¥याउन प्रयासरत हुँदै हुँदै पनि कमी कमजोरीहरू छन् तथापी त्यसलाई सुधार गर्दै लैजाने साझा जिम्मेवारी सबैको हो ।

हाम्रा सञ्चारमाध्यम सबैलाई दोष दिन मिल्दैन तर मानिसहरू आतंकित भयविद्ध पार्ने विवादमा ल्याउने शीर्षकहरू राखेर, आफ्नो लाईक, भ्यूहरू बढाउनेहरू सत्य तथ्य र विश्लेषणमा भन्दा पनि अनुमानको आधारमा समाचार बनाउने कार्य रोकिनु पर्छ । लाईक कमेन्ट र यूटुवर को भ्यूहरू बढाउनाले पैसा आर्जन त गर्लान तर ती समाचार, भिडियोहरूले बालमनोविज्ञान अनि कोरोना विरुद्धको अभियानमा लकडाउनमा घर बसिरहेकोलाई समेत डरत्रासको स्थितिमा झनै मनोबल घट्न सक्दछ भन्ने तर्फ ध्यान दिनु जरुरी छ । कतिपय कमेन्टहरूका भाषा पढ्नै नसक्ने अमर्यादित अनुशासन हिन हुन्छन्, उनीहरूले नै आफूले निकै राम्रो गरेजस्तो अरुलाई गाली र्गछन् ।

मानिसको व्यक्तिगत, सामाजिक, राजनीतिक, पारिवारिक जीवनमाथि प्रहार गरिरहेका हुन्छन् भने विपतको समयमा पुरानापुराना प्रसंग नै नजोडिएका कुरा पोष्ट गर्ने कार्य समेत भईरहेको देखिन्छ । तसर्थ हामी नागरिकको भूमिका यस समयमा सामाजिक सञ्जालका प्रयोग कर्ताले समाचारहरूमा आफ्नो सहमती, असहमती सुझावहरू राख्न सक्छन् तर भाषाशैली मर्यादित र सभ्य हुन जरुरी छ । राज्यबाट भएका सकारात्मक पहल, सूचनाहरू प्रचारप्रसार गर्ने र सुझाव दिन सकिन्छ ।

सुनेका, देखेका, कसैले लेखेका आधारमा नै आफ्नो धारणा बनाउनु भन्दा अहिले काम गर्न दिने समय हो । कमि कमजोरी पारदर्शितामा समस्या भए हामीसँग उजुरी दिने निकायहरू छन् । त्यहाँ दिएमा त्यसको विषयमा सम्बन्धित निकायले प्रक्रिया पु¥याएर आवश्यक छानविन गर्दछ । विगतमा त्यस्ता उजुरी उपर वर्षौदेखि लुकेछिपेका कुराहरू पनि कार्वही दायरामा आउन थालेका थुप्रै उदाहरण छन् । सबै काम आफै–आफै गर्ने हो भने त्यस्तो निकाय किन चाहियो त ? राज्यका सम्बन्धित निकायले पनि सामाग्रीहरू खरिद गर्दा, प्रयोग गर्दा पारदर्शीता, जवाफदेहिता र गुणस्तरियताका प्रश्न उठाउने ठाउँ राख्न दिनु हुँदैन र मनसाय गलत नराखिकन गरेका कामहरू कमजोरी भए सुधार गर्नुपर्छ सुधार गर्न खोजेको कुरालाई सकारात्मक रुपले लिनु पर्दछ ।

सरकारको तर्फबाट प्रधानमन्त्रीको सम्बोधन, उच्च स्तरीय समितिको नियमित वैठक, विभिन्न क्षेत्रका व्यक्तिहरूसँग छलफल गरिरहेको र लकडाउन तथा यसले पारेको असरलाई कमी गर्न विभिन्न कार्यक्रम घोषणा गरिएका छन् । त्यस्तो कार्यक्रमहरू कति प्रभावकारी छन्, कायन्वयन हुन सकेका छन्, छैनन् ? कहाँनेर समस्या छन् भन्ने सन्दर्भमा तिनै तहका सरकार र सम्बन्धित सरोकारवालाहरू नियमति समन्वय सहकार्य र साझा निर्णय गरी मात्र अघि बढ्न जरुरी छ । विपतको बेलामा आर्थिक, राजनीतिक, सामाजिक स्वार्थसँग जोडेर आरोप र प्रत्यारोप गर्ने समय यो हुन सक्दैन ।

हामीले यस्तो विपतको घडीमा राजनीतिक व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर प्रकोप विरुद्ध जुट्नु पर्दछ । हामीलाई अहिले प्राप्त स्रोत साधनलाई प्रयोग गरी आवश्यक स्वास्थ्य सामाग्री, स्वास्थ्य परीक्षण चाहिएको छ । सुरुवातीको दिनहरूमा भन्दा पछिल्लो दिनहरूमा सबै कुराहरू व्यवस्थित हुँदै गईरहेका छन् । यस्तो बेला कसैलाई अलमलाउने, विवादमा ल्याउने होइन, अमेरिका, फ्रान्स, स्पेन, इटली, चिन लगाएतका जस्ता हुनबाट हामी जोगिन सकेको खण्डमा भने बाँकी सबै कुरामा फेरी पनि छलफल वहस गर्न सकिन्छ । तसर्थ आफू पनि बाचौँ, अरुलाई पनि बचाउन तर्फ नयाँ वर्ष २०७७ ले सबैलाई प्रेरणा दियोस् भन्ने शुभकामना !

(लेखक सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र राष्ट्रिय युवा परिषद्मा आबद्ध सामाजिक संघसंस्था सञ्जालको अध्यक्ष हुनुहुन्छ ।)

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलवार ११:२२