कोरोनाको माैका छोपेर मन्त्री भैहाल्छु कि भनेर छिर्के हान्ने पार्टी नेताको सूची बनाउँ
-रमेश पौडेल
आज दुनियाँ कोरोना भाइरसका कारण त्रसित छ । हामी नेपाली पनि दुई हप्ताभन्दा बढी समयदेखि निरन्तर लकडाउनमा छौ । देश बचाउने अनि आफू पनि बच्ने अभियानमा छौ । यही अभियानलाई सफल पार्न, जनताकोे जीवनरक्षाका लागि सरकार सम्पूर्ण संयन्त्र परिचालन गरी लागिपरेको छ । देश भनेको भूगोल मात्र होइन, जनता हुन् । यही कुरालाई सरकारले आत्मसात गरेको छ । सरकार कोरोना भाइरसको रोकथाममा सम्पूर्ण शक्तिका साथ लागेको छ । यसको फलस्वरुप हालसम्म कोरोनाका कारण १७ जना भन्दा कम संक्रमण भएका ४९ वटा देशभित्र पनि सबैभन्दा धेरै टेष्ट गर्ने राष्ट्रका रुपमा हामी पर्न सफल भएका छौ । सरकारको सुझबुझपूर्ण पहलकदमी र अगुवाईले यो सफल भएको भन्दा बढाई चढाई गरेको भन्न मिल्दैन जस्तो लाग्छ ।
सरकार जनताको जीवनरक्षाका लागि लागिरहेको बेला हामी सबै यो समयमा थप जिम्मेवार बन्नुपर्ने हो । यस्तो अवस्थामा प्रतिपक्षी सरकारको राजीनामा आए सब थोक मिल्छ भन्ने जस्तो हास्यास्पद एवम् रहस्यमय तबरले कुरा राख्छ । हास्यास्पद किनभने कोरोना महामारी हो । यो विश्वमा फैलिएको छ । र, शक्तिशाली देशसमेत यसको सामना गर्न नसकेर लडखडाएको अवस्था हामीले देखेकै छौं । कोरोना महामारी र प्रतिपक्षीको माग रहस्यमय किन छ भने प्रमको राजीनामापछि पनि नेकपाकै बहुमत भएकाले सरकार उसकै बन्नेवाला छ ।
प्रमुख प्रतिपक्षी मात्र होइन, सरकारलाई समस्या पार्टीभित्रका प्रतिपक्षले पनि सृजना गरिरहेका छन् । ठुला पूँजीपति बर्ग एवम् तिनका परिवारले चलाएका मिडिया, प्रतिक्रियावादी शक्ति, दलाल तथा ठग, तस्करहरु हाम्रै पार्टीभित्रका पद पाउन नसकिरहेका नेताहरुलाई प्रयोग गरी यो खेल खेलिरहेको भन्ने कुरा त पार्टीका जिम्मेवार नेता-नेतृबाट नै राजीनामा माग्नु र कसैले सल्लाहकारको टिम खराब भयो भनी प्रधानमन्त्रीका बिरुद्ध नियोजित ढङ्गबाट समाचार बनाइरहेबाटै पुष्टी भएको छ । उनीहरुले त्यस्ता मिडियालाई समाचार दिइरहेकोबाट प्रष्ट हुन्छ ।
यस्तै घेराबन्दीका बीच पार्टीको सचिवालय बैठक बसेर सरकारको कदम ठिक रहेको निष्कर्ष निकालेको छ । यही मौका छोपी मन्त्री बन्न पो सकिहाल्छु कि भन्ने साँघुरो चेतबाट केही नेताहरु निर्देशित भएका देखिन्छन् । यसरी पार्टीकै नेताहरु सरकारको बिरोधमा लाग्दा आम कार्यकर्तामा भ्रम उत्पन्न भएको छ । यस महामारीमा सरकारको उछित्तो काट्ने, मनोवल गिराउने, नंग्याउन हदैसम्म लाग्ने र तिनको सहायक बन्ने काम कति ठिक-बेठिक छ नेतृत्वले बुझेको हुनुपर्दछ ।
महाशक्ति राष्ट्रहरु पनि यस कोरोना भाइरससँगको लडाई सजिलै जित्न नसकिने भइयो भनेर हायल कायल अवस्थामा छन् । अमेरिकाले २ लाख नागरिक मर्नसक्ने अनुमान गरेको छ भने जापानले स्वास्थ्य आपतकालको घोषणा गरेको छ । यस महामारीले ठूलो संख्यामा मानिस सङ्क्रमित मात्र बनाएको छैन त्यही क्रममा ज्यान पनि लिएको छ । संसार नै एक किसिमले अस्तब्यस्त छ । ८० हजार भन्दा बढीले ज्यान गुमाइसकेको अवस्था छ । एउटा सुखद पाटो नेपालमा ९ जनामा मात्र कोरोना संक्रमण देखापरेको छ । साथै यसको निराशाजनक पक्ष भनेको संसारभरिका बैज्ञानिकहरु लागिपर्दा आजसम्म पनि यसको औषधि पत्ता नलाग्नु र हाम्रो असल छिमेकी भारतमा यो क्रमशः फैलिएकाले गर्दा पनि हो ।
युरोपको कुरा गर्दा पूरा यूरोप हायलकायल छ भने पछिल्ला दिनमा विश्व शक्ति अमेरिकामा यसको सवै भन्दा जोखिम देखिन्छ । जसको फलस्वरुप अव अमेरिकाको महाशक्तिको ताज खोसिने पो हो कि भन्ने बिभिन्न अड्कलबाजी बिश्वभरि देखापर्न थालेको छ । हालाकि पछिल्ला दिनमा यो भाइरसको उद्गम स्थान मानिने चिनले लगभग भाइरसलाई नियन्त्रण लिन सफलता प्राप्त गरेको छ । ७६ औं दिनमा यो भाइरस उत्पत्ति भएको वुहान सहरको लकडाउन हटाइएको छ । कोरोनासँग सम्बन्धित स्वास्थ्य सामग्रीहरु विश्वमा सप्लाई गरिरहेको छ । यसले अमेरिकी एक ध्रुवीय नेतृत्वमा चुनौतीसम्म अवश्य खडा गर्दैछ ।
यसैबीच विश्व स्वास्थ्य संगठन( डब्लुएचओ) लगायतका संस्थाले पनि आफ्नो कुरा फेरिरहनु र शक्तिशाली देशहरु पनि यसको पहेली चिन्न नसकेको अवस्था छ । विश्वकै, मानवजातिकै अस्तित्वमा धावा बोलेको छ कोभिड १९ ले । यस्तो कार्यमा बिभिन्न प्रकारले मिडियाबाट सरकारको बदनाम गर्ने काम भइरहेको छ । यस्तो काम अनधिकृत रुपमा राष्ट्रको अरबौ रकम गैरकानुनी तवरबाट बिदेश लैजान पल्केकाहरु र तिनबाट संचालित मिडियाहरु मुखर ढंगले लागेका छन् ।
स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई भड्काउने कार्यमा तल्लीन छन् । हालाकि २/३ दिनअघि सरकारले स्वास्थ्यकर्मीका लागि २५ लाखको विमाको प्याकेज ल्याएको छ र पीपीई लगायतका समस्याको पनि हल हुँदै जाँदैछ । तर पनि सामाजिक संजालमा सरकारबिरुद्ध भ्रम छर्ने कार्य भइरहेको छ । जनतामा झन् निराशा भर्ने काम गर्दैछन । निजी अस्पतालले सामान्य ज्वरो आउने बित्तिकै बिरामी नहेर्ने गुनासो छँदैछ ।
यतातिर पार्टीभित्रकै वा बाहिरबाट सरकारको बिरोध गर्नेहरुको आँखा जाँदैन न त ? ३-४ हजारमा पाइने थर्मल गन १६ हजारमा बिक्री गर्नेहरु नै सरकारलाई अर्ति उपदेश दिन तल्लीन थिए । सरकारलाई सामान खरिद गर्न नदिई मिडियाबाट बिरोध गराउने र आफूहरुले कालोबजारी गर्ने उद्देश्य उनीहरुको रहेको सुलभ अग्रवाल पक्राउपछि पुष्टी भएको छ । उनलाई संरक्षण गर्नेहरु को को हुन्, ती जतिसुकै शक्तिशाली हुन्, सरकारले खोजी गरी कठघरामा ल्याउनुपर्छ । सल्लाहकारका कुरा काटेर आम कार्यकर्ता एवम् जनतामा भ्रम छर्ने काममा तिनै कालाबजारिया र गैरकानुनी रुपमा अरबौं रकम विदेश लाने ब्यापारी छन् ।
यस बिषम परिस्थितिमा सीमित स्रोत साधनका बाबजुद कोरोना संक्रमण फैलन नदिई महामारीबिरुद्धको लडाईमा संसारका उच्च आर्थिक हैसियत भएका मुलुकभन्दा राम्रो हैसियतमा नेपाल छ । यसमा के भगवानले वा हामी ले बढी मान्ने पशुपतिनाथले गर्दा मात्र भएको हो त ? निसन्देह, यो सरकारको सुझबुझपूर्ण निणर्यले गर्दा हो । यो रोग फैलिने बित्तिकै सरकारले अन्तर्राष्ट्रिय एयरपोर्टमा यसको स्क्यानर राखेका थियो र छिमेकी भारत भन्दा अगाडि नै हाम्रो देशलाई लकडाउन गरी रोग फैलिनबाट जोगायौ । यति धेरै मान्छे संसारभरी मर्दा हामीकहाँ एक जानले पनि यो रोगबाट प्राणत्याग गर्नुपरेको छैन ।
संक्रमणको संख्या पनि कम छ र संक्रमितका वरिपरिका सवैलाई जाँच गराइएको छ । यो कदमका लागि विशेष गरी स्वास्थ्य मन्त्रालय बिशेष धन्यवादको पात्र बनेको छ । यस्तो अप्ठेरो परिस्थितिमा स्वास्थ्य सेवा विभागले सुरुमा सामान खरिद गर्दा ठेक्का पाएको कम्पनीले सामान दिन नसक्दा ठेक्का रद्द हुने विश्वब्यापी चलनमा समेत ठेक्का पार्न खोज्ने अन्य समूहले अस्वस्थ तरिकाबाट केही मिडियालाई उचाली हिरोइजम देखाउन खोजेको थियो जुन बिफल भइसकेको छ ।
यसैबीच नेपालको अबको आर्थिक अवस्था कस्तो रहने ? नेपालका बैंकहरु प्नि जोखिममा रहेका छन् । किनकि नेपालका बैंकका ६०–७० प्रतिशत लगानी साना खालका ब्यवसायीहरु भएको र यो महामारीले गर्दा उठ्न सक्ने कि नसक्ने ? यी बिषयमा हामी अगुवा युवाको कस्तो धारणा के हुने ? युवा ब्यवसायीहरुका के कस्ता समस्या छन् भनेर अगुवा भई पहल गर्नुपर्ने बेलामा, पार्टीलाई सफल बनाउने बेलामा आ–आफ्नो डम्फु बजाउने काम भइरहेको छ ।
आज हेर्दा केपी ओलीको सरकार देख्न सकिन्छ तर यो नेकपाको सरकार हो । यो हामीलाई भोट दिने ६० लाख मतदाता नेतृत्वको सरकार हो । अहिले विश्वको मानव सभ्यतामाथि नै चुनौती देखिएको छ । मानव जाति रहने कि नरहने, महामारीपछि आउने दिनमा कस्तो अवस्था रहने भन्ने ठूलो अनिश्चय छ । यो अनिश्चयको अवस्थाबाट सकुशल अवतरण गराई सम्पूर्ण मानव जातिलाई समस्याबाट समृद्धितर्फ लैजाने भिजन भएको सरकार हो । हामले हाम्रो सरकारलाई बिश्वास गर्नुपर्छ ।
हाम्रा कस्ता प्रयासले समस्या हल हुने हो सो को लागि आफ्नो बलिदान दिन के के गर्नु पर्ने हो सो गर्न तयार हुनुपर्ने बेला हो । यो तर यस्तो अवस्थामा हामी के गरिरहेका छौं भन्ने कुराको बोध हुन जरुरी छ । के ३ करोड जनसंख्या भएको देश जसको ५० लाख जनसंख्या बिदेशमा बस्छ । उक्त देशमा ९ जनामात्र संक्रमित देखिनु सरकारको सफलता हैन र ? कि संक्रमण कम मानिसलाई हुँदा, कम मान्छे मर्दा वा एकजना पनि नमर्दा ओली सरकारको बिरोध गर्न नपाइने भइयो भनेर लामो समयदेखि शासनमा हालीमुहाली गरेकाहरु र तिनका एजेन्ट र अन्य कुनै समूह छटपटाहटमा छन् ? छन् भने पनि हामीले त्यस्तालाई चिनेर मात्र धारणा बनाउनुपर्दछ कि पर्दैन ?
सरकार जनतामा समर्पित छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा देशको इज्जत बढाएको छ । भारत वेष्ठित देशलाई भूपरिवेष्ठित बनाएको छ । सहअस्तित्व बनाउन लागिपरेको छ । दुनियाँबाट कम्युनिष्टहरु हराउँदै गएको अवस्थामा, एउटा इतिहासको अन्त्य भयो भनि साम्राज्यवादीहरुले हौवा फिजाएको अवस्थामा नयाँ जोश र जाँगरका साथ जनताको मतबाट, जनयुद्ध र जनआन्दोलनको नेतृत्व गर्दै प्रचण्ड बहुमतको सरकार बनाउन सक्षम भएको छ । निरंकुश राजशाहीको जरा उखेलेर नाकाबन्दीमा देशको शिर झुक्न नदिई जनताबाट निर्वाचित भएर लगभग दुई तिहाईका साथ सरकार बनाएकोमा के हिजोका राजशाीहका एजेन्टलाई र सत्तामा मोजमस्ती गरिबसेकालाई मन परेको होला र ? उनीहरु बिरोध गर्ने समय पनि यस्तै आपतबिपतको समयलाई पार्छन् । यो कुरा हेक्का नराख्दा हाम्रो पार्टीलाई, राष्ट्रलाई यहाँसम्म ल्याइपुर्याउने वीर शहीदप्रतिको तिरस्कार हुँदैन र ?
२०६४ को संबिधानसभाको निर्वाचनमा तत्कालीन एमालेले तत्कालीन माओवादी सँग मिल्न नमान्दा के नतिजा आयो ? त्यस्तै २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन एमाओबादीले तत्कालीन एमालेसँग मिल्न रुचि नगर्दा आएको नतिजा र हाल मिल्दाको नतिजा हाम्रासामु छ । यसले हामी लाई एकताको बल कस्तो हुन्छ भन्ने कुराको राम्रो जानकारी दिएको छ ।
पार्टीका सवै नेताप्रति समान आदरभाव राख्नुपर्छ भन्ने कुरामा शंका छैन । यदि म केपी ओली मान्छु भने प्रचण्ड मेरो केपी ओली जत्तिकै बराबरी मान्नुपर्ने नेता हुनुहुन्छ । यो कुरा मान्दा मात्र एकताको खास मर्म बुझेको हुन्छ । यसमा सबै सचेत हुनुपर्दछ । यस्तै चेत त्यो पनि अझ प्रगाढ बनाउनुपर्ने बेला हो कि हैन यो ? रकेट साइन्सको कुनै औपचारिक अध्ययन बिनानै स्व अध्ययनबाट नै ईलन मस्कले अन्तरीक्ष पुग्ने र फेरि सकुशल फर्किई पुनः प्रयोग गर्न सकिने रकेट बनाए । हाल सो सहित बिद्युतीय कार बनाउने कम्पनी टेस्लाका सिईओ समेत छन् । तर हामी एकले अर्को लाई खुइल्याएर मात्र केही बनिन्छ भन्ने फोहोरी दाउ खेल्न खोज्छौ । के हाम्रो पुस्ताले हाम्रो युवा आन्दोलनले ईलन मस्क जस्तो प्रतिभाशाली ब्यक्तिव निर्माणमा जोड दिनुपर्दैन र ? कोरोनाको माैका छापेर छिर्के हान्दै फेरि मन्त्री बनिहाल्छु कि भनेर फोहोरी खेल खेल्ने बेला हो यो ? यस्तो कर्ममा लाग्ने पार्टीकै नेताहरूको सूची बनाएर हामी युवाले सामाजिक बहिष्कार किन नगर्ने ?
केपी ओली र ईश्वर पोखरेलको नेतृत्वमा कोरोना बिरुद्ध लडिरहेको सरकार दिनको १८ घण्टा भन्दा बढी समय खटिरहेको छ । प्राइभेट अस्पतालले पनि कोरोना जाँच्दा क्षति भएमा बीमाको ब्यवस्था गरेको छ । देशभर स्वास्थ्य स्वयम्सेवक र सुरक्षाकर्मीसमेतलाई प्रोत्साहन भत्ताको ब्यवस्था तथा स्थानीय तह मार्फत् जुन देशको नागरिक भए पनि भोकै नपरुन् भन्ने हेतुले राहत बाँडिएको छ ।
बैंकको ब्याज असारसम्म तिर्न मिल्ने ब्यवस्था गरिएको छ भने चाँडै देशको आर्थिक ब्यवस्था ठिक ढंगबाट सञ्चालनमा ल्याउन नयाँ घोषणा र कार्यान्वयन गर्ने दिशामा छ । यस्तो बिषम परिस्थितिमा सम्पूर्ण जनतालाई फेरि पनि एकजुट बनाई देशका लागि, सम्पूर्ण मानव जातिका लागि अहम् भूमिका निर्वाह गर्नुपर्ने बेलामा आफू केन्द्रित राजनीति गर्नु भनेको सम्पूर्णको अधोगतिको नायक बन्न खोज्नु मात्र हो । त्यसैले यस महाबिपत्तिमा मिलेर सरकारसँग हातेमालो गर्दै सम्पूर्ण मानवजातिको रक्षा गर्न लागौं, सुरक्षित रहे फेरि पनि राजनीति गर्ने समय अवश्य आउनेछ ।
(पाैडेल युवा संघका सहसंयोजक हुनुहुन्छ ।)
प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार १३:४५