३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

गैरआवासीय नेपालीले गोरखामा साढे चार मेगावाटको जलविद्युत् निर्माण गर्ने

७ चैत, काठमाडौँ । गैरआवासीय नेपाली तथा स्थानीय साझेदारको संयुक्त लगानीमा गोरखामा एक जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास हाइड्रोपावर कम्पनीले गोरखाको माछा खोलामा अप्पर माछाखोला जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । कूल ४.५५ मेगावाट क्षमताको सो आयोजनामा मलेसियामा लामो समयदेखि व्यापार व्यवसाय गर्दै आएका गैरआवासीय नेपालीले लगानी गर्न लागेका हुन् । कूल रु ८१ करोड ६५ लाख लागत रहेको सो आयोजनामा स्वपूँजीका रुपमा लगानीकर्ताले रु ३२ करोड ६५ लाख लगानी गर्ने भएका छन् । यस्तै आयोजनालाई सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले रु ४८ करोड ९९ लाख लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

फाइल फाेटाे

स्वपूँजी र ऋण लगानीको मात्रा ४० र ६० प्रतिशत रहने गरी व्यवस्था गरिएको छ । कम्पनीले दिएको जानकारीअनुसार सम्झौतापत्रमा विकास हाइड्रोपावरका तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । प्रवद्र्धक विकास हाइड्रोपावरका अध्यक्ष न्यौपानले साना आयोजनाबाट निर्माण शुरु गरेर ठूलो आयोजनामा जाने सोचका साथ आफूहरु जलविद्युत् आयोजनामा हात हालेको बताउनुहुन्छ । नेपाल विद्युत् प्राधिकरणसँग वर्षाकालमा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता भइसकेको छ ।

आगामी विसं २०८० साल असारमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको निर्माण शुरु भइसकेको जानकारी दिँदै प्रवद्र्धक कम्पनीले भने २०७८ असार भित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ । “जतिसक्दो चाँडो आयोजना निर्माण सम्पन्न भयो, त्यत्ति नै हाम्रा लागि राम्रो हुने भएकाले सोहीअनुसार नै काम सम्पन्न गर्ने लक्ष्य राखेका छौँ”, अध्यक्ष न्यौपानेले भन्नुभयो । आयोजनाबाट उत्पादित विद्युत् कूल ३३ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइनमार्फत प्राधिकरणको सल्यानटार सवस्टशेनमा जोड्ने लक्ष्य राखिएको छ । आयोजनाले वार्षिक कूल २८.१८ गिगावाट ऊर्जा उत्पादन गर्नेछ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सानो आयोजना भए पनि आकर्षक रहेकाले बैंकले लगानी गरेको बताउनुभयो ।

उहाँका अनुसार वाणिज्य बैंकले मात्रै हालसम्म ऊर्जा क्षेत्रमा कूल रु १० अर्ब लगानी गरिसकेको जानकारी दिँदै केही महत्वपूर्ण आयोजना पाइप लाइनमा रहेको बताउनुभयो । “ऊर्जा क्षेत्रका केही लगानी तितो भए पनि धेरै लगानी मीठो र सकारात्मक रहेको छ । हामी उच्च प्रतिफल दिने र आकर्षक आयोजनामा दिल खोलेर लगानी गर्न सक्ने अवस्थामा पुगेका छौँ”, उहाँले भन्नुभयो । बैंकले आर्थिक वर्ष २०७५÷७६ मा मात्रै कूल रु पाँच अर्ब चार करोड मुनाफा गरेकाले पनि थप आयोजना अगाडि बढाउन कुनै समस्या नरहेको उहाँको भनाइ छ । भौगोलिकरुपमा पनि आयोजना निर्माण स्थल सहज रहेको उल्लेख गर्दै आयोजनाले हिउँदमा समेत उच्च प्रतिफल दिने प्रवद्र्धक कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार १६:२२