१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

शकुन्तलाल हिराचनको युनाइटेड बिल्डर्सले कामदारको ८ महिनाको तलब नदिएछि पुल निर्माण रोकियो

२८ फागुन, पाल्पा । समयमा तलब भत्ता नदिएको भन्दै कालीगण्डकी नदीमा बन्दै गरेको पक्की पुलको काम गर्न कामदारले रोकेका छन् । रामपुर नगरपालिका–१ स्याउलीबजार र घिरिङ गाउँपालिका–१ पुट्टार जोड्ने काली नदीमा बन्दै गरेको पक्की पुल निर्माणको काम भइरहे पनि कम्पनीले गत साउन महिनादेखि नै तलब नदिएको उनीहरुको आरोप छ ।

विसं २०७५ कात्तिकदेखि निर्माणको काम शुरु भएर आव २०७७/७८ मा सम्पन्न लक्ष्य भए पनि अहिलेसम्म पुल निर्माणका काम जम्मा २० प्रतिशत मात्रै भएको छ । नेपाल सरकार सडक विभाग र युनाइटेड बिल्डर्स कम्पनीबीच ठेक्का सम्झौता भएको हो । युनाइटेड बिल्डर्स कम्पनीले निर्माणको जिम्मा पाए पनि कामदारलाई तलब भत्ता दिनका लागि बेवास्ता गरेर बसेको कामदारको गुनासो छ ।

दुई सय १० मिटर लम्बाइ र नौ मिटर चौडाइ भएको पक्की पुल रु साढे २८ करोडको लागतमा निर्माणसम्पन्न हुने पुल निर्माण उपभोक्ता समिति सचिव दानस मल्लले जानकारी दिनुभयो । गत साउनदेखि तलब भत्ता नपाएको पटकपटक माग्दा पनि कम्पनीले वास्ता नगरेको केशर श्रेष्ठको भनाइ छ । उहाँले कम्पनीका मानिससँग धेरै पटकसम्म तलब माग्दा पनि नसुनेजस्तो गरेकाले अब काम गर्न नसकिने बताउनुभयो । श्रेष्ठले उचित पहल गर्नका लागि पुल निर्माण उपभोक्ता समितिलाई निवेदन दिँदासमेत समितिले समेत आफूहरुको मागको सुनुवाइ नगरेको उनीहरुको आरोप छ ।

समितिले भने कम्पनीका अध्यक्ष पूर्णलाल हिराचन र प्रबन्ध निर्देशक सकुन्तलाल हिराचनसँग सम्पर्क हुन नसकेकाले कामदारको गुनासो सम्बोधन गर्न नसकेको समितिले जनाएको छ । निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले कम्पनीले समयमा तलब दिनुपर्ने र गुणस्तरीय ढङ्गले पुल निर्माणको काम समयमा सक्नुपर्ने बताउनुभयो । कामदारले भने आजैदेखि पुल निर्माणको काम गर्न छाडेका छन् । पुल निर्माणसम्पन्न भएपछि पाल्पा, तनहुँ तथा नवलपुर क्षेत्रका नागरिकलाई कास्की पोखरासँग सिधा यातायात सुविधा हुने र नेपालको गौरवको योजना कालीगण्डकी करिडोरमार्फत मुस्ताङ गैँडाकोट क्षेत्रसम्म व्यापारिक हिसाबले फाइदा पुग्नेछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार २१:५८