१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

डिपो प्रमुखमाथि छानबिन सुरु

१५ फागुन, काठमाडौं । हवाई इन्धन ढुवानी गर्ने ट्याङ्करका मुख्य साँचो (मास्टर कि) गायब गर्ने डिपो प्रमुख महेशमान श्रेष्ठमाथि नेपाल आयल निगमले समिति बनाएर अनुसन्धान थालेको छ । श्रेष्ठ सिनामङ्गल डिपो प्रमुख रहँदा माघ १९ गते साँचो हराएको थियो ।

साँचो राख्ने दराजको पासवर्ड डिपो प्रमुखसँग मात्रै हुन्छ । चार सय मुख्य साँचो गायब गरेका श्रेष्ठलाई निगमको केन्द्रीय कार्यालयमा ल्याई निगरानीमा राखेर अनुसन्धान थालिएको नेपाल आयल निगमले जनाएको खबर गोरखापत्र दैनिकमा छ । ढुवानीका क्रममा हुने चोरी तथा चुहावट नियन्त्रणका लागि निगमले २०७४ चैत १ देखि एकल ताला प्रणाली लागू गरेको थियो । जसमा पेट्रोलियम पदार्थ भर्ने र खन्याउने स्थानमा सुरक्षित तरिकाले ती साँचो राखिन्छ । ट्याङ्‍करलाई दिइँदैन । सिनामङ्‍गलस्थित डिपोबाट गायब गरिएका साँचोले ट्याङ्करबाट इन्धन चोरी हुन सक्ने भएपछि निगमले तत्काल इन्डियन आयल कर्पोरेसनसँग अनुरोध गरी साँचो सिल गर्ने व्यवस्था गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, “साँचो हराएपछि तत्काल सिल गरी अर्को साँचोको व्यवस्था गरेका छौँ, साँचो हराए पनि तत्काललाई कुनै रिक्स छैन, अनुसन्धान भइरहेको छ ।”

विशाल ओझाको संयोजकत्वमा समिति गठन गरी अनुसन्धान भइरहेको गोइतले जानकारी दिए । निगमका अनुसार प्रमुख दायित्व कार्यालय प्रमुखको नै हुन्छ । त्यसमाथि साँचो राख्ने दराजको पासवर्ड कार्यालय प्रमुखसँग मात्र हुन्छ । बिहान कामका लागि साँचो निकालेपछि साँझ थन्काइन्छ । कार्यालय प्रमुखले चाहे दैनिक रूपमा पासवर्ड परिवर्तन गर्न सकिन्छ । ती हराएका चार सय साँचो अहिलेसम्म भेटिएका छैनन् ।

निगमका अनुसार हराएका साँचो मुख्य साँचो भएकाले हवाई इन्धनबाहेकका अन्य ट्याङ्‍कर पनि खोल्न मिल्छ । डिपो प्रमुख श्रेष्ठको कार्यकक्षमा पासवर्डसहितका दुईवटा दराजमा मुख्य साँचो राख्ने गरिएका थियो । जसमध्ये एउटा दराजको साँचो हराएको भनिएको छ । महिना दिन हुन लाग्दा पनि हरायो भनिएका साँचोको कुनै पत्तो नलाग्दा निगमकै कर्मचारीको मिलेमतो हुनसक्ने पेट्रोलियम ढुवानी व्यवसायीको दाबी छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार ०६:५०