१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

६० वर्षपछि पुनः सञ्चालनमा आउँदै हेटौंडा–अमलेखगन्ज सुरुङमार्ग

१३ फागुन, हेटौंडा । वाग्मती प्रदेश सरकारले एसियाकै पुरानो सुरुङमार्गको पुनर्निर्माण गर्ने भएको छ । हेटौंडा अमलेखगन्ज सुरुङमार्ग ६० वर्षपछि पुन सञ्चालनमा ल्याउन गृहकार्य सुरु भएको हो ।

वर्तमान सन्दर्भमा व्यावसायिक प्रयोगका लागि उपयुक्त नभए पनि ऐतिहासिक सम्पदाको संरक्षण गर्न तथा पर्यटन प्रवद्र्धनका लागि सुरुङमार्गको जीर्णोद्वार गरी पुनःसञ्चालनमा ल्याउने योजना अगाडि सारिएको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए । तत्कालीन समयमा एशियाका विशाल र शक्तिशाली भनिएका देशले बनाउन नसकेको सुरुङमार्ग नेपाली प्राविधिक र कामदारसमेत नेपालीलाई नै सहभागी गराएर निर्माण हुनु आफैँमा गौरवपूर्ण भएको उनको भनाइ छ ।

सांकेतिक तस्बिर ।

त्यो इतिहासको प्रचार गर्नु तथा पर्यटन प्रवर्द्धन गर्नु एवं विकासका परम्परागत प्रविधिबारे अध्ययन गर्ने स्थलका रुपमा विकास गरेर विगतमा के कस्ता सामग्रीको प्रयोग कसरी गरिँदोरहेछ भन्ने जानकारी वर्तमान पुस्ता र भावी पुस्तालाई समेत गराउने उद्देश्यसहित व्यवस्थित र सुरक्षित तबरले पुनःनिर्माण गरिने उनको भनाइ रहेको खबर गोरखापत्र दैनिकमा छ ।

प्रदेश दुईसँगसमेत सहकार्य गरेर सुरुङमार्गलाई आकर्षक हिसाबले पुनर्निर्माण गरिने प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको देशलाई पर्यटनमय बनाउने योजना तथा मुख्यमन्त्री डोरमणि पौडेलको परिकल्पनामा काम भइरहेको बताउँदै मन्त्री फुयाँलले वैशाखदेखि काम सुरु गरिने जानकारी दिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलवार ०७:०४