३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

‘सेन्टी भाइरस’मा दर्शकको भिड

फागुन ११, काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘सेन्टी भाइरस’ले सुरुवाती व्यवसाय राम्रो गर्न सफल भएको छ । ‘सेन्टी भाइरस’ले शुक्रबार र शनिबार राम्रो व्यवसाय गरेको निर्माण युनिटले जनाएको छ । शिवरात्रीकाे दिन  प्रदर्शनमा आएको ‘सेन्टी भाइरस’ का  निर्देशन रामबाबु गुरुङ हुन् ।  हाँस्यजोडी  ‘धुर्मुस’ र  ‘सुन्तली’ले पहिलोपटक निर्माण गरेको फिल्मको आम्दानीको ५० प्रतिशत भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालामा खर्चिने निणय भएकाे छ । यो निणयले पनि  दर्शकहरू फिल्मप्रति हाकर्षित भएका  हुन् ।

शुक्रबारको तुलनामा शनिबार फिल्ममा अझै बढी दर्शक देखिएका छन् । फिल्मका कलाकार समेत रहेका निर्माता ‘धुर्मुस सुन्तली’ शनिबार र शुक्रबार राजधानीका गोपीकृष्ण, अष्टनारायणलगायतका केही चलचित्र घरमा दर्शकको प्रतिक्रिया बुझ्न पुगेका थिए । सो अवसरमा उनीहरुसँग सेल्फी खिच्न र हात मिलाउन दर्शकको ठूलो भीड लागेको थियो । कतिपय दर्शकले त ‘सेन्टी भाइरस’को नारा समेत लगाएका थिए । उक्त अवसरमा कलाकार धुर्मुसले दर्शकहरूले फिल्म हेरेर रंगशाला निर्माणमा सहयोग गरेको भन्दै दर्शक प्रति आभार ब्यक्त गरे ।

सुन्तलीले भने फिल्म माफर्त दर्शकले रंगशालामा अपनत्व जनाएको बताइन् । उनले भनिन् ‘रंगशााला सबैको आफ्नो होस् भनेर हामीले फिल्म बनाएका हौ ।’ राजधानीको अलवा पोखरा, बुटवल, विर्तामोड, इटहरी, दमक र चितवन लगायतमा समेत शुक्रबार र शनिबार फिल्मले राम्रो दर्शक पाएको बितरकले जनाएका छन् ।  दुई दिनको बिदा परेको कारण पनि फिल्मले राम्रो दर्शक पाउन सकेको हो ।

फिल्ममा‘धुर्मुस सुन्तली’का लगायत विल्सन विक्रम राई, बुद्दि तामाङ,दयाहाङ राई, राजाराम पौडेल,  कमलमणी नेपालसन्दिप क्षेत्री,लगायतका कलाकारले समेत अभिनय गरेका छन् । डिन्डु लामा ह्योल्मोले निर्माण गरेको फिल्म कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् । फिल्ममा शंकर थापा स्माइल, राजनराज शिवाकोटी र कालीप्रसाद बाँस्कोटाले संगीत दिएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आईतवार १४:५५