१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

विकट गाउँमा लिफ्ट खानेपानी आयोजना

१० फागुन, पर्वत । पर्वतको विहादी गाउँपालिका ३, रानीपानीमा रुम्टा लिफ्ट खानेपानी आयोजनाको निर्माण सुरु भएको छ । दुई करोड ५० लाख रुपैयाँको लागत अनुमान रहेको सो आयोजनाको शुक्रबारदेखि निर्माण सुरु भएको हो ।

गण्डकी प्रदेश सरकारले रु साढे दुई करोड बजेट विनियोजन गरेको जनाइएको छ । विहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले यहाँका बासिन्दा अब खानेपानीको समस्याबाट मुक्त हुने र समयमै काम सम्पन्न गराउनको लागि स्थानीयवासीसमेत क्रियाशील हुनुपर्नेमा जोड दिए । खानेपानीको विद्युत् महशुल गाउँकार्यपालिकाबाटै भुक्तानी हुने गरी व्यवस्था मिलाउने तयारी गरेको जनाइएको छ । रानीपानीको भाटीचौर, साउथर, कुमालगाउँ, पस्यारलगायतका ठाउँका १५० भन्दा बढी बासिन्दा आयोजनाबाट लाभान्वित हुने वडा नं ३ का वडाध्यक्ष रणबहादुर आलेले जानकारी दिए ।

आयोजनाको काम सुरु भएसँगै स्थानीय खुसी भएका छन् । रानीपानीमा अर्को बृहत् अरेबा लिफ्ट खानेपानी आयोजनाको कामसमेत सुरु हुँदैछ । यी दुई खानेपानी आयोजना सञ्चालन भएपछि वर्षौंदेखिको खानेपानीको समस्या बाट पूर्ण मुक्त हुनेछ । –रासस

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार ०९:२०