१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

१० फागुन, धनकुटा । सुविधा र कामको खोजीमा बसाइँ जाने क्रम बढेपछि धनकुटाको छथरजोरपाटी गाउँपालिकाले अन्यत्रबाट आउने परिवारलाई दुहुनो गाई उपहार दिन थालेको छ । जुनसुकै स्थानमा स्थायी बसाइँ आउने घरपरिवारको जीवन निर्वाहमा सहयोग पुर्‍याउने उद्देश्यले दुहुनो गाई उपहार दिन थालिएको गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले बताए ।

सांकेतिक तस्बिर ।

‘मधेसलगायत अन्य क्षेत्रमा बसाइँ जाने क्रममा कमी ल्याउँछ’, उनले भने, ‘कार्यक्रमले उत्पादनशील भूमि बाँझोमा परिणत हुने परिस्थितिको अन्त्य हुने विश्वास छ ।’

कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले कार्यविधि निर्देशिका बनाएको खबर अन्नपूर्ण पोस्टमा छ । अहिलेसम्म गाउँपालिकाभरिमा ८ जना नयँ परिवार बसाइँ आएका छन् । नयाँ परिवारले दुहुनो गाई माग्दै गाउँपालिकामा आवेदन दिइसकेका छन् ।

नयाँ घरपरिवारलाई प्रतिगाई खरिदमा अधिकतम ६१ हजार रुपैयाँ अनुदान उपलब्ध गराइने पशुपन्छी विकास शाखाका प्रमुख राजकुमार राईले बताए । उनका अनुसार बसाइँ आउने परिवारले गाउँपालिकामा निवेदन, बसाइँ सराइ प्रमाणपत्र, लालपुर्जा र नागरिकताको प्रतिलिपि, वडा कार्यालयको सिफारिसपत्र पशुपन्छी शाखमा बुझाउनुपर्छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार ०८:१२