१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बढ्दै होमस्टे : वर्षमा ६० हजार पर्यटक

६ फागुन,  नेपालगन्ज । प्रदेश ५ का विभिन्न जिल्लामा सामुदायिक र निजी घरबास (होमस्टे) खुल्ने क्रम बढेको छ । होमस्टेप्रति आन्तरिक र बाह्य दुवै प्रकारका पर्यटकको आकर्षण बढ्दै गएकाले होमस्टे खुल्ने क्रम बढेको होमस्टे एसोसिएसनले जनाएको छ ।

होमस्टे एसोसिएसन प्रदेश ५ का सचिव कृष्णलाल चौधरीका अनुसार होमस्टेप्रति पर्यटकको आकर्षण देखेर प्रदेशमा होमस्टे खुल्ने क्रम बढ्दै गएको छ । हाल प्रदेश ५ मा ४५ वटा होमस्टे सञ्चालनमा रहेको खबर गोरखापत्र दैनिकमा छ । तीमध्ये ३२ सामुदायिक र १३ निजी होमस्टे रहेको जनाउँदै सचिव चौधरीले तिनमा करिब तीन सय परिवारले प्रत्यक्ष रोजगारी पाएको बताए ।

उनका अनुसार बर्दियामा ६ सामुदायिक र दुई निजी, बाँकेमा तीन सामुदायिक र चार निजी, दाङमा आठ सामुदायिक, प्यूठानमा चार सामुदायिक, गुल्मीमा चार सामुदायिक, पाल्पामा चार सामुदायिक र पाँच निजी, रोल्पामा दुई सामुदायिक, कपलिवस्तुमा एक सामुदायिक, रुकुम र रुपन्देहीमा एक-एक निजी होमस्टे सञ्चालनमा छन् । सामुदायिक होमस्टे चलाउन कम्तीमा पाँच घर मिल्नुपर्ने व्यवस्था छ ।

ती होमस्टेहरूले वर्षमा ६० हजार पर्यटकलाई सेवा दिँदै आएको जनाउँदै चौधरीले नेपाल भ्रमण वर्ष मनाइरहेको हुँदा यस वर्ष करिब ८० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए । बाँके, बर्दिया र पाल्पा जिल्लामा व्यवस्थित होमस्टे सञ्चालनमा रहेको होमस्टे एसोसिएसनले जनाएको छ । सरकारले पर्यटनका लागि घोषणा गरेका सय गन्तव्य क्षेत्रमा यी जिल्लाका होमस्टे समेटिएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलवार ०६:५५