१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

विनियोजन विधेयकका प्राथमिकता दिशाहीनः कांग्रेस

२७ वैशाख, काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त सरकारका नीति तथा कार्यक्रमका रुपमा आएको हुँदा सैद्धान्तिक अन्योल र प्राथमिकता दिशाहीन बन्न पुगेको टिप्पणी गरेको छ ।

राष्ट्रियसभामा आजदेखि शुरु भएको आव २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफलमा भाग लिँदै नेपाली काँग्रेसका जितेन्द्रनारायण देवले सिद्धान्तका विषय गौण देखिएको, शब्द चयनमा गम्भीर नदेखिएको तथा बजेट समावेशी र प्रगतिशील हुनु पर्नेमा त्यो छाँटकाँट नदेखिएको उल्लेख गर्र्नुभयो ।

सन्तुलित विकास, गरिबी घटाउने, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन, समाजवादी आर्थिक प्रणाली, सार्वजनिक र निजी क्षेत्रलाई विकासको साझेदार बनाउने, प्रगतिशील अर्थ प्रणालीको विकास, विप्रेषणलाई उत्पादनशीलसँग जोड्ने कुरा सकारात्मक छन् उहाँले भन्नुभयो ।

अधिकार हस्तान्तर गर्ने विषयमा प्राथमिकता र सिद्धान्तमा चुकेको छ, समावेशी सिद्धान्तअनुसार बजेट छैन, प्रगतिशील बजेट आउने देखिन्न, मुलुकको विकासका लागि दु्रत र विकासको लागि छिमेकीको सहयोग ल्याउने विषय छोएको छैन, सांसद देवले भन्नुभयो ।

अर्का सांसद धना खतिवडाले मुलुकको द्रुत र वैज्ञानिक विकासका लागि सेटलाइट सिटीको अवधारणा ल्याउन आवश्यक रहेको बताउनुभयो । बिना पोखरेलले हामी समाजवादी अर्थतन्त्रको जग हाल्दैछाँै भन्छौँ तर औद्योगिकीकरणमा पर्याप्त जोड दिएको देखिन्न भन्दै कृषिलाई औद्योगिकीकरण गर्ने र खनिजपदार्थ विकासमा जोड दिने कुरा सिद्धान्त र प्राथमिकतामा छुटेका छन् भन्नुभयो ।

रामचन्द्र राईले मुलुकमा सुशासन कायम नभई विकास र समृद्धि सम्भव छैन भन्दै सुशासनलाई प्रवद्र्धन गर्न भ्रष्टाचारलाई कडाइका साथ अघि लैजाने कुरा स्पष्ट ढंगबाट आउनुपर्छ भन्नुभयो ।

प्रकाश पन्तले मुलुकमा रोजगारी नभएर विदेशिएका युवालाई समेट्ने समृद्धि र सामाजिक सुरक्षा कार्यक्रम बजेटमा समावेश गर्न आवश्यक छ भन्नुभयो ।

रमेशप्रसाद यादवले सडकको किनारमा वृक्षरोपण र चुरे संरक्षणलाई विशेष ध्यान दिएर बजेट विनियोजन गरियोस् भन्नुभयो ।

दिलकुमारी रावलले विप्रेषणलाई उत्पादनको क्षेत्रमा प्रयोग गर्ने र उत्पादन बढाउन कृषिको व्यावसायिक खेतीलाई प्रवद्र्धन गर्ने बजेट आउन आवश्यक रहेको बताउनुभयो । कमला ओलीले बजेटका सिद्धान्त र भावनालाई विश्लेषण गर्दा देशभक्तिबाट ओतप्रोत रहेको देखिन्छ भन्नुभयो ।

खिमकुमार विश्वकर्माले आत्मनिर्भर अर्थतन्त्रको विकास, कृषिमा आधुनिकीकरण र व्यवसायीकरण, वैज्ञानिक भूस्वामित्व, भौगोलिक विविधतालाई ध्यानमा राखेर क्षमतालाई प्रवद्र्धछ गर्ने ढंगबाट बजेट ल्याउन सुझाव दिनुभयो ।

विमला राईले सरल, छोटो र स्पष्ट ढंगले बजेटको सिद्धान्त र प्राथमिकता आएको छ, नेपालीको चुलिएको आकांक्षा र स्वेतपत्रले देखाएको धरातलका आधारमा रहे पनि महिला र बालिबालिकाको विषय भने समेटिन नसकेको टिप्पणी गर्नुभयो ।

राष्ट्रियसभाको अर्काे बैठक वैशाख ३० गते आइतबार दिनको ११ बजे बस्नेछ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने क्रम भने जारी नै छ ।

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहीबार १३:५७