३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

काभ्रेमा विमानस्थल टुंगो लगाउन समिति गठन

२७ वैशाख, काठमाडाैँ । काभ्रेपलाञ्चोकमा विमानस्थल बनाउनका लागि उपयुक्त स्थान छनोट गर्न सरकारले इन्जिनियर कमलकुमार केसीको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप नियन्त्रण गर्न काभ्रेमा वैकल्पिक आन्तरिक विमानस्थल बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले केहीदिनअघि उक्त समिति गठन गर्नुभएको हो ।

समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशकद्वय वदास भोछिभोया र बाबुराम पौड्याल, उपनिर्देशकहरु सुवर्ण उपाध्याय र सीताराम भण्डारी रहनुभएको छ । समितिको सदस्य सचिवमा प्राधिकरणकै नलविक्रम थापा हुनुहुन्छ ।

मन्त्री अधिकारीले हालै बनेपा नगरपालिकाको नागीडाँडा, धुलीखेल नगरपालिकाको चिसापानी ठूलीचौर र देवीस्थान ठूलीचौरकोे स्थलगत भ्रमणका क्रममा उपयुक्त विकल्पसहितको सुझाव दिन समिति गठन गर्ने बताउनुभएको थियो । उक्त समितिलाई ती तीन ठाउँ वा अन्य उपयुक्त ठाउँको अध्ययन गरी १५ दिनभित्र सुझाव पेश गर्नुपर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहीबार १३:२८