१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

सस्तो प्याकेजले गुणस्तर खस्कियो

२४ माघ, चितवन । काठमाडौँमा रहेर चितवनका लागि पर्यटक पठाउने ट्राभल एजेन्सीसँग सौराहाका होटलले ५० करोड रुपैयाँभन्दा धेरै रकम लिनुपर्ने पाइएको छ । पर्यटनको क्षेत्रमा काम गर्दै आएका ट्राभल एजेन्सीले चितवनको होटलमा पर्यटक पठाउने तर तोकेअनुसारको रकम भुक्तानी नगरेपछि धेरै बक्यौता देखिएको हो ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले भने, ‘काठमाडौँका विभिन्न एजेन्सीसँग सौराहाका होटलले मात्रै ५० करोड रुपैयाँभन्दा धेरै लिनुपर्ने देखिन्छ । एउटा होटलको मात्रै विभिन्न एजेन्सीसँग एक करोड रुपैयाँभन्दा धेरै लिनुपर्ने देखिन्छ ।’

उनका अनुसार एउटा ट्राभल एजेन्सीले यहाँका कुनै एउटा होटलमा पर्यटक पठाउँछ । ५० प्रतिशत रकम दिन्छ । बाँकी रकम माग्यो अर्को पर्यटकलाई फेरि पठाउँछ । पुरानो रकम बाँकी नै राख्छ । फेरि ५० प्रतिशत रकम दिन्छ । पुरानो बाँकी नै । यसरी पुरानो रकम लिनुपर्ने धेरै भएपछि यहाँकै अर्को होटललाई पर्यटक पठाउँछ तर पुरानोमा पठाउन बन्द गर्छ ।

छिमेकी होटलले पर्यटक पाएँ भन्दै लिन्छ । अर्को होटललाई पैसा नतिरेको थाहा पाउँदापाउँदै लिने गरेपछि ऊ पनि फस्दै जान्छ, उनले बताए । यस्तो समस्याले सौराहाका होटल सञ्चालक धेरै समस्यामा परेको उनको भनाइ छ ।

करोडौँ लगानी गरेर पर्यटन क्षेत्रमा लागियो पैसा कमाउनेभन्दा एजेन्सी मोटाउने काम मात्र भएको अध्यक्ष भट्टराई बताउँछन् ।

एजेन्सीको गलत प्रवृत्तिका कारण यहाँका पर्यटन व्यवसायलाई तनाव भएको खबर गोरखापत्र दैनिकमा छ । यद्यपि सबै एजेन्सीमा त्यस्तो समस्या भने नरहेको व्यवसायीहरु बताउँछन् ।

खस्कँदै गुणस्तर
थोरै रकममा धेरै सुविधा दिन एजेन्सीले पर्यटक बुक गर्दा होटलले दिने सेवाको गुणस्तर खस्कँदै जान थालेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष भट्टराईले भने, ‘एउटा पर्यटकलाई दुई रात तीन दिन आठ हजारमा सबै प्याकेज दिनुपर्दा गुणस्तर खस्केको छ । ब्रेकफास्ट, खाना, आवास, हात्ती सफारी, जिप सफारी, थारू नृत्य सबै गरेर आठ हजारमा नाफा हुँदैन ।’ नाफा नभएपछि दिने खानामा सामग्री घटाउँदा गुणस्तरमा समस्या आउने उनले बताए । अर्का होटल सञ्चालक दामोदर रेग्मीले एजेन्सीका कारण पर्यटन क्षेत्रमा समस्या आएको बताए ।

भयो बदनाम
नेपाल एसोसियसन ट्राभल्स एन्ड टुरका केन्द्रीय अध्यक्ष अच्युत गुरागाईंले केही एजेन्सीका कारण यो क्षेत्र बदनाम भएको दाबी गरे । सौराहा मात्र नभई त्यस्ता एजेन्सीले अन्य क्षेत्रका होटललाई पनि पैसा तिर्न बाँकी रहेको गुनासो आएको उनले बताए । ‘होटलको संस्था हानमा उजुरी गरेर त्यहीँमार्फत एसोसियसनलाई जानकारी गराए समस्या समाधानका लागि पहल गर्ने छौँ,’ उनले भने ।

एजेन्सीबाट लिन छाडियो
होटल सेभेन स्टारका सञ्चालक माधव दवाडीले एजेन्सीले पैसा नदिने समस्या ७५ प्रतिशत रहेकामा होटल सङ्घले बदनाम एजेन्सीको काम लिने होटललाई सचेत पार्ने काम गरेको बताए । तर व्यवहारमा त्यति देखिएको छैन । उनले नाम चलेका राम्रा एजेन्सीबाहेक काठमाडौँका एजेन्सीसँग पर्यटक नलिने गरेको बताए । पार्क सफारीका सञ्चालक महेश खनालले अनलाइन बुक र राम्रा नाम चलेका विश्वासिलाबाहेक अहिले एजेन्सीबाट पर्यटन लिन छाडिएको जानकारी दिए ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार ०६:४१