१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

२२ माघ, काठमाडौं हुम्ला सदरमुकाम सिमकोटमा मङ्गलबार फोरजी जडान र परीक्षण सम्पन्न भएसँगै देशका ७७ जिल्लाकै प्रमुख स्थानमा यसको पहुँच विस्तार भएको छ । गत वर्ष माघ २० गते एक वर्षभित्र देशैभर फोरजी सेवा विस्तार गर्ने सम्झौताअनुसारै यसको पहुँच बढाइएको प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

उनका अनुसार मङ्गलबारको सफलतासँगै देशैभर फोरजी नेटवर्क विस्तार गर्नेमा टेलिकम पहिलो र सबैभन्दा ठूलो सेवा प्रदायक बनेको छ । टेलिकमले गत वर्ष कोर नेटवर्क विस्तारमा सबैभन्दा कम रकम कबुल गरेको चिनियाँ कम्पनी जेडटीई र दुईवटा रेडियो एक्सेस नेटवर्क (र्‍यान)का लागि चाइना कम्युनिकेसन सर्भिसेज इन्टरनेसनल

(सीसीएसआई) हङ्कङसँग सम्झौता गरेको थियो । दुवै कम्पनीसँग एक वर्षभित्रै देशभर चौथो पुस्ताको फोरजी सेवा विस्तार गर्ने सम्झौता थियो ।

टेलिकमले अहिलेसम्म दुई हजार ३८ साइडका तीन हजार ६८३ टावरमा जडान फोरजी प्रविधि जडान गरेको र दुई सयभन्दा बढी नयाँ टावर नयाँ स्थापना गरेको अधिकारीले जानकारी दिए । ‘फोरजीको माग र सम्भावित बजार पहिचान गरेर नयाँ स्थानमा यसको सेवा विस्तार गर्ने काम भइरहेको छ,’ उनले भने । फोरजी परियोजनाअन्तर्गत कम्पनीले चार हजार दुई सय टावरमा फोरजी प्रविधि जडान र थप ६४० नयाँ टावर स्थापना गर्ने लक्ष्य राखेको खबर गोरखापत्र दैनिकमा छ ।

नेपाल टेलिकमले त्यसअघि २०७३ पुस १७ गते नेपालमै पहिलोपटक फोरजी सेवा सुरु गरेको थियो । त्यतिबेला १८ सय मेगाहर्ज ब्यान्डमा फोरजी सेवा सुरु गरेको कम्पनीले काठमाडौँ उपत्यका र पोखरामा मात्र यो सेवा उपलब्ध गराएको थियो । एकैपटक फोरजी विस्तार गर्ने योजनाअन्तर्गत टेलिकमले कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क (र्‍यान) का लागि २०७४ पुस १७ र २२ गते यसका विश्वव्यापी बोलपत्र आह्वान गरेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार ०६:२८