१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

२१ माघ, काठमाडौं प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले देशभरका नाजुक पुलहरूको प्रतिवेदन पेस गर्न सरकारलाई निर्देशन दिएको छ । डिजाइनमा समस्या भएका, निर्माण व्यवसायीका कारण अलपत्र परेका र काबुबाहिरको अवस्थामा पुगेका पुलहरूको विवरण तथा समस्या समाधानका कार्ययोजना १५ दिनभित्र समितिमा पेस गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा सोमबार बसेको समितिको बैठकले विस्तृत छलफलपछि यस्तो निर्देशन दिएको खबर गोरखापत्र दैनिकमा छ । त्यसैगरी निर्माणाधीन अवस्थामा रहेका कतिपय पुलहरूको डिजाइनमै समस्याग्रस्त देखिएकाले आगामी दिनमा निर्माण गरिने पुलहरू ‘डिजाइन एन्ड विल्ड’ प्रविधिबाट अगाडि बढाउनसमेत समितिले मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यस्तै निर्माण प्रक्रियामा रहेका निर्माणाधीन रही बजेटको अभावमा अलपत्र अवस्थामा रहेका पुलहरूको अवस्था यकिन गरी अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग समन्वय गरी स्रोत जुटाई सम्पन्न गर्न समितिले मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

समितिका सभापति कल्याणीकुमारी खड्काको सभापतित्वमा सम्पन्न बैठकमा मन्त्रालयले पेस गरेको प्रतिवेदनअनुसार अहिले मुलुकभरि २ हजार ९१ पुल निर्माणाधीन अवस्थामा छन् । तीमध्ये ९६ पुल ठेकेदारका कारण, ३७ वटा संस्थागत (कार्यालय) कारण र ५१ पुल आयोजना काबुबाहिरका कारण रहेको बैठकमा जानकारी गराइएको थियो ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलवार ०७:०७