१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

टोखा–नुवाकोट सुरुङमार्ग सम्भव

२१ माघ, काठमाडौं काठमाडौँ उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित प्रस्तावित राजधानीको टोखा–नुवाकोट सुरुङमार्ग प्राविधिक रूपमा सम्भव देखिएको छ । चिनियाँ प्राविधिक टोलीले एक महिना लगाएर गरेको प्रारम्भिक अध्ययनले सो सुरुङमार्गको निर्माण तथा सञ्चालन प्राविधिक रूपमा सम्भव देखिएको हो ।

चिनियाँ टोलीले एक महिनासम्म स्थलगत रूपमा बसेर अध्ययन गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले प्रस्तावित राजधानीको टोखा–नुवाकोट सुरुङमार्ग निर्माणका लागि उच्चस्तरीय चिनियाँ प्राविधिक टोलीले गरेको प्रारम्भिक अध्ययनले सो सुरुङमार्गको निर्माण तथा सञ्चालन प्राविधिक रूपमा सम्भव देखाएको जानकारी दिए । अध्ययनका लागि पुसको दोस्रो साता नेपाल आएका चिनियाँ टोली अध्ययन सम्पन्न गरी स्वदेश फर्किसकेको खबर गोरखापत्र दैनिकमा छ ।

“चिनियाँ टोलीले आगामी मार्चको अन्तिम साता अध्ययन प्रतिवेदन चीन सरकारलाई बुझाउनेछ । त्यसपछि चीनले सो प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ,” उनले भने, “चीनले नेपाललाई प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाएपछि प्रस्तावित सो सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न नेपाल र चीनबीच नयाँ समझदारी भई काम अगाडि बढाइनेछ ।”

सो सुरुङमार्ग निर्माणबारे तीन वर्षअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको प्रारम्भिक अध्ययनले समेत सो सडकखण्डमा सुरुङमार्गको निर्माण तथा सञ्चालन सम्भव रहेको देखाएको थियो । चीनका राष्ट्रपति सी चिनफिङको गत असोजमा सम्पन्न नेपाल भ्रमणका क्रममा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच भएको समझदारीअनुसार काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग निर्माणबारे अध्ययन थालिएको हो ।

सुरुङमार्गको निर्माणपछि अढाइ घण्टामै राजधानीदेखि चीनको सिमानासम्म र आधा घण्टामा नुवाकोटको थानसिङ्ग फाँटसम्म पुग्न सकिनेछ । यो सुरुङमार्ग निर्माण भएपछि थानसिङ्ग फाँटमा ‘स्याटेलाइट सिटी’ निर्माण गर्ने योजना सरकारको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलवार ०६:२९